नेपालगन्ज : अखाद्य कोलटार रङ्ग मिसाएर उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पु¥याएको ठहर गर्दै बाँके जिल्ला अदालतले नेपालगन्जका एक होटल व्यवसायीलाई ६ महिनाको कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
नेपालगन्ज उपमहानगरपालिका–११ मा रहेको बिसमिल्ला होटलका संचालक मोहम्मद उमर साइविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले दायर गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय तोकेको हो।
जिल्ला अदालत बाँकेका न्यायाधीश केशवराज चपाईको एकल इजलासले दिएको फैसलामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२(१)(ख) बमोजिम कैद र जरिवाना गरिएको उल्लेख छ। साथै, फैसलामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम कानुनी प्रक्रिया पुरा गरिएको जनाइएको छ।
होटलमा भेटियो यस्तो भयावह अवस्था
खाद्य निरीक्षक रामहरी लामिछानेको नेतृत्वमा गरिएको स्थलगत निरीक्षणमा बिसमिल्ला होटलमा निम्न अवस्था पाइएको थियो:
-
बिरयानी पकाउने ठाउँ खुलेआम फोहोर र शौचालयसँग जोडिएको
-
फ्रिजभित्र अत्यधिक दूषित अवस्थामा मासु भण्डारण
-
प्लास्टिकका भाडामा प्याज, राइता, ब्रेडक्रम, चिकनजस्ता खाद्यपदार्थ राखिएको
-
बिरयानी र कवाबमा अखाद्य कोलटार रङ्ग मिसाइएको
-
भण्डारण कक्ष अत्यन्त फोहोर, कचरा फाल्ने, थुक्ने, र अव्यवस्थित रुपमा खानेकुरा राखिएको
यी सबै आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले २०७८ साल जेठ ५ गते संचालक उमर साइविरुद्ध मुद्दा दायर गरेको थियो।
उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर
अदालतले फैसलामा उल्लेख गरेअनुसार, संचालक साइनो कार्यले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा पुर्याउने देखिएकाले कानूनअनुसार कारबाही गर्नुपर्ने ठहर गरिएको हो।
खाद्य कार्यालयद्वारा ६ वटा मुद्दा दायर
अघिल्लो आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले विभिन्न खाद्य सुरक्षासम्बन्धी उल्लंघनमा ६ वटा मुद्दा अदालतमा दायर गरेको छ।