ई-आर्थिक, काठमाडौं । विभिन्न देशहरूमा आकर्षक तलबसहितको वैदेशिक रोजगारी दिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं र काभ्रेबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा प्युठान स्थायी घर भई टोखा नगरपालिका–३ बस्ने ३९ वर्षीय शान्त बहादुर विक, काभ्रे भुम्लु गाउँपालिका–१ स्थायी घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने २६ वर्षीय प्रल्हाद खत्री, सिराहा कर्जन्हा नगरपालिका–८ स्थायी घर भई काभ्रे बनेपा नगरपालिका–८ बस्ने ४४ वर्षीय महमद हातीम, र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ स्थायी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन्।
प्रहरीका अनुसार शान्त बहादुरले क्यानडामा रोजगारी पठाइदिन्छु भन्दै एक जनाबाट रु ६ लाख, प्रल्हादले कतार पठाइदिन्छु भन्दै तीन जनाबाट रु ७ लाख, महमदले एक जनाबाट रु ३ लाख, र ताराले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै एक जनाबाट रु ५ लाख १७ हजार ठगी गरेका थिए। रकम लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
शान्त बहादुरलाई काठमाडौं–२९, प्रल्हादलाई काठमाडौं–२६, महमदलाई बनेपा–७ र तारालाई बुढानिलकण्ठ–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।