ई-आर्थिक, सुनसरी । अविरल वर्षापछि सेउती खोलामा आएको बाढीले धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र वडा नम्बर ४ को किरात बस्तीलाई जोड्ने झोलुंगे पुलको पूर्वी भाग क्षतिग्रस्त बनेको छ।
विसं २०५७/५८ मा करीब ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त झोलुंगे पुल स्थानीयवासीका लागि धरान बजारसँग दैनिक आवतजावतको मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको थियो।
गत साउन २८, २९ र ३० गतेको लगातार वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा ठूलो क्षति पुर्याएको वडा नम्बर ४ का सदस्य राजन चाम्लिङले जानकारी दिए।
घटनापछि पुलको स्थलगत निरीक्षण कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, एमाले प्रदेश सदस्य राजेन्द्र राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलगायतले गरेका छन्। उनीहरूले पुलको तत्काल मर्मत गरी सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।
वडा सदस्य चाम्लिङका अनुसार, यदि समयमै तारजालीसहितको तटबन्ध निर्माण गरिएको भए पुल जोगिन सक्ने सम्भावना थियो। हाल जोखिम न्यूनीकरणका उपायहरूमा प्राथमिकता दिइँदैछ भने जिल्ला प्रशासन कार्यालयसँग आवश्यक सहयोगको अनुरोध गरिएको छ।
पुलको थप क्षति रोक्न सुरक्षात्मक उपायहरू अवलम्बन गरिएको र नियमित निगरानी जारी राखिएको वडा कार्यालयले जनाएको छ।