ई-आर्थिक, नेपालगञ्ज । पाँच वर्षदेखि सहकारीमा जमा गरेको रकम फिर्ता नपाउँदा स्थानीय निक्षेपकर्ता पीडामा भोग्न बाध्य भएका छन्। “अरूको घरमा झाडू पुछ्छु, लुगा धोएँ, जम्मा गरेकी त्यो रकम अहिलेसम्म फिर्ता पाएको छैन।” पीडित माया पासीले भनिन। सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिदै हिडन बाँध्य छन् ।
अहिले उक्त सहकारी संस्था बन्द भएको छ। पासीले ३ लाख २८ हजार रुपैयाँ बचत गरेकी थिइन्, जुन छोरीको विवाहका लागि भनेर राखिएको रकम थियो। उस्तै स्थिति सावित्रीदेवी सुवेदीको पनि छ उनले पनि करिब ६ लाख रुपैयाँ राखेकी थिइन् र विवाह लक्षित गरेका थिए, तर “सबै सपना चकनाचुर” भएको उनी बताउँछिन्।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सहकारीले बैंकिङ प्रणाली जस्तो काम गर्न खोज्दा नियम विपरित काम भएको र व्यवस्थापनमा समस्या उत्पन्न भएको बताए। उनले सहकारी नियमनका लागि थप जनशक्ति आवश्यक भएको पनि जोड दिए।
सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कानूनी रूपमा ऋण लगाउन नमिल्ने क्षेत्रमा लगानी गरेकाले सहकारीमाथि प्रश्न उठेको बताए।
सहकारी प्रशिक्षणालय, बाँकेका उपप्रधान आर. ओझाले सहकारीको मूल भावनाविपरित कामहरूले समस्या उत्पन्न भएको बताए। सहकारी विभाग प्रमुख प्रविण थापाले सहकारी एकीकरण गरी समस्या समाधानका प्रयास गर्न सुझाव दिए।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले अनुगमन र नियमनका लागि नयाँ कार्यविधि ल्याइएको जानकारी दिए। नेपालगञ्जमा हाल वितर्तित पाँचजना सहकारी नै समस्याग्रस्त अवस्थामा रहेको उपमहानगरपालिकाले बताएको छ।