ई-आर्थिक, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनको क्षेत्रमा मधेस प्रदेश देशभरमै अगाडि रहेको बताएका छन्। नेपाल इँटा उद्योग महासंघ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको जनकपुरधाममा उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।
मुख्यमन्त्री सिंहले मधेस प्रदेश उखु, आँप, माछा र धानको उत्पादनमा मात्र नभई इँटा उत्पादनमा पनि महत्त्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरे। उनका अनुसार देशभर रहेका करिब १,३०० इँटा उद्योगमध्ये ७०० वटा मधेस प्रदेशमा छन्, जसमा हाल ३२० भन्दा बढी उद्योग सक्रिय रूपमा सञ्चालनमा छन्।
कार्यक्रममा मुख्यमन्त्री सिंहले इँटा उद्योगीहरूलाई प्रदेश सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा गर्न आग्रह गरे। साथै, उनले मधेस प्रदेशबाट संघीय सरकारलाई सबैभन्दा धेरै राजस्व गएको भए पनि त्यसअनुसारको बजेट प्राप्त नभएको गुनासो गरे।
उनले स्थानीय तहहरूबाट प्रदेश सरकारले पाउनु पर्ने भागको करसमेत प्राप्त नभएको भन्दै निकासी पैठारी, खोला तथा मनोरञ्जनजस्ता करहरूको ४० प्रतिशत प्रदेश सरकारलाई पठाउनु पर्ने व्यवस्था भए पनि हालसम्म त्यो कार्यान्वयन नहुँदा प्रदेश सरकार असहजमा परेको बताए।
कार्यक्रम नेपाल इँटा उद्योग महासंघ मधेस प्रदेशका अध्यक्ष सञ्जीव साहको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधानलगायतले पनि सम्बोधन गरेका थिए।