२०८३ साउन १२ मंगलबार

सदरमुकामकै छेउमा सडक अलपत्र : निर्माण व्यवसायी सम्पर्कविहीन, स्थानीय हिलो–धुलोमा सास्ती

ई आर्थिक    बिहिबार, भाद्र ५ २०८२
1.9K
Shares
सदरमुकामकै छेउमा सडक अलपत्र : निर्माण व्यवसायी सम्पर्कविहीन, स्थानीय हिलो–धुलोमा सास्ती

रेसुङ्गा : रेसुङ्गा नगरपालिका–७ देउराली–कमेरेपानी सडक निर्माणमा चरम बेथिती देखिएको छ। सदरमुकाम तम्घाससँग जोडिएको यो सडक वर्षौं अलपत्र हुँदा स्थानीयले हिउँदमा धुलो र बर्खामा हिलो खेप्न बाध्य भएका छन्।

स्थानीय पूर्वाधार विकास कार्यालय, रुपन्देहीमार्फत २०८१ मङ्सिर २४ गते एसएन कन्ट्रक्सन, चाँगुनारायण काठमाडौंसँग एक करोड नौ लाख रुपैयाँमा निर्माण सम्झौता भएको थियो। सम्झौताअनुसार २०८२ जेठ १५ गतेभित्र ढलानसहितको कालोपत्रे सडक निर्माण सक्नुपर्ने भए पनि कामको प्रगति शून्य छ।

इन्जिनियर रमेश भण्डारीका अनुसार सम्झौता सकिएको तीन महिना बितिसक्दा समेत निर्माण कम्पनीले ९३० मिटर सडक निर्माणमध्ये जम्मा दुई सय मिटर नालीको काम मात्र गरेको छ। अझैसम्म भौतिक तथा वित्तीय प्रगति शून्य रहेको भण्डारीको भनाइ छ।

निर्माण व्यवसायीले नौ लाख रुपैयाँ पेश्की लिएका थिए, तर काम नगरेपछि उक्त रकम फिर्ता गरी कार्यालय खातामा तानिएको बताइएको छ।

सडक निर्माणको नाममा पहिलेको सडक भत्काएर छाडिएपछि जनताले झनै सास्ती भोगिरहेका छन्। स्थानीय गशेण श्रेष्ठ भन्छन्, “सडककै कारण वडा कार्यालय जानसमेत सकिँदैन। बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्ये सडकले गाउँको सुन्दरता बिगारिएको छ।”

वडाध्यक्ष रामप्रसाद पन्थीका अनुसार कामको ढिलाइबारे जिल्ला प्रशासन कार्यालयमा एक महिनाअघि नै पत्र पठाएर सहजीकरणको अनुरोध गरिएको थियो। स्थानीयबासीले पनि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको उनले बताए।

निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि कार्यालय नै समस्यामा परेको छ। मजदुरहरूले पनि तलब नपाएपछि काम छाडेर फर्किएको स्थानीयले बताएका छन्।

सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने र अव्यवस्थित निर्माणका कारण बस्तीहरू जोखिममा परिरहेका छन्। नियामक निकाय चुपचाप बसेको भन्दै स्थानीय आक्रोशित छन्।

अब प्रश्न उठ्छ—बजेट भएर पनि काम नगर्ने र ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई सरकारले कारबाही कहिले गर्ने? रेसुङ्गा मात्रै होइन, देशभर यस्ता बेथितीका अनगिन्ती उदाहरण छन्, तर जवाफदेही को?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij