काठमाडौँ : गृह मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च बेरुजु फर्स्योट गरेको छ। मन्त्रालयका अनुसार दुई अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपैयाँ बराबरको बेरुजु रकम फर्स्योट गर्दै महत्वपूर्ण वित्तीय प्रगति हासिल गरिएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा गृह मन्त्रालय अन्तर्गत विभिन्न निकायमा कूल तीन अर्ब ७२ करोड ४५ लाख ८७ हजार रुपैयाँ बेरुजु रहेको थियो। गृहमन्त्री रमेश लेखकले मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत, कानुनी र वित्तीय सुधारलाई प्राथमिकतामा राख्दै बेरुजु फर्स्योटलाई प्राथमिक एजेन्डा बनाएका थिए।
गृह मन्त्रालयको आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीका अनुसार गत आवमा फर्स्योट प्रगति ६३.१७ प्रतिशत पुगेको छ। चालु आव २०८२/८३ मा बाँकी रहेको एक अर्ब ४७ करोड ४५ लाख रुपैयाँ बेरुजु पनि कार्ययोजना बनाएर फर्स्योट गर्ने तयारी मन्त्रालयले गरेको छ।
उपसचिव अधिकारीका अनुसार आव २०८१/८२ मा लेखा परीक्षणको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको छ। सन् २०७८/७९ मा यो अनुपात १.४१ प्रतिशत रहेको थियो।
बेरुजु फर्स्योटलाई प्रभावकारी बनाउन मन्त्रालयले आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको छ। उक्त समितिले बेरुजु रकम अभिलेखीकरण गर्ने, नियमित कार्ययोजना अनुसार बैठक बस्ने र प्रगतिको समीक्षा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।
यो प्रगतिलाई मन्त्रालयले वित्तीय पारदर्शिता र जवाफदेहितातर्फको सकारात्मक संकेतको रूपमा लिएको छ।