२०८३ साउन ११ सोमबार

कैलालीका वरिष्ठ वन अधिकृत यादवमाथि सात लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

ई आर्थिक    सोमबार, भाद्र २ २०८२
4.6K
Shares
कैलालीका वरिष्ठ वन अधिकृत यादवमाथि सात लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

ई-आर्थिक, काठमाडौं । डिभिजन वन कार्यालय, कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवमाथि घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ लाख ३१ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै सोमबार आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट निकासी गर्न लागिएको काठको बिमार्का र छोडपूर्जी प्रक्रिया अघि बढाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीको आधारमा अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई सात लाख एकतीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

अनुसन्धानबाट यादवले सेवाग्राहीसँग सो रकम घुसस्वरूप माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। यस आधारमा यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार कैद र बिगो बराबरको जरिवाना सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारले सरकारी सेवा क्षेत्रमा देखिएको भ्रष्टाचारजन्य क्रियाकलापलाई नियन्त्रण गर्न यस्ता कारबाही अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij