ई-आर्थिक, म्याग्दी । कोरोना महामारीको प्रभावका कारण थलिएपछि म्याग्दीको पर्यटन क्षेत्र अझै पूर्ण रुपमा लयमा फर्किन सकेको छैन। महामारीअघि २०७५ सालसम्म वार्षिक ७५ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गर्ने म्याग्दीमा हालको आगमन संख्या त्यसको आधाभन्दा पनि कममा सीमित रहेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३० हजार ८ सय ६५ जना विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरूको अवलोकन गरेका छन्। अघिल्लो वर्ष २०८०/८१ मा ३१ हजार ३ सय ३४, २०७९/८० मा २९ हजार ३ सय २८ र २०७८/७९ मा मात्र ७ हजार ९२६ जना विदेशी पर्यटक आएको विवरण छ।
जिल्लामा पर्यटक आगमनको अभिलेख मुख्यत: घोडेपानी र दरवाङमा रहेका इलाका प्रहरी कार्यालयहरूले राख्ने गरेका छन्। तर, छिमेकी जिल्ला मुस्ताङ जाने पर्यटक म्याग्दीको सडक हुँदै गएका भए पनि त्यसको तथ्यांक भने छुट्टै राखिएको छैन।
धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, खोपरा, टोड्के, रुप्से झरना, गलेश्वर, अन्धगल्छी, बेनी बजार, तातोपानी कुण्डजस्ता धार्मिक, प्राकृतिक तथा साहसिक गन्तव्यहरू म्याग्दीमा रहेका छन्। यद्यपि, पर्यटन प्रवर्द्धनमा अपेक्षित सुधार नआउँदा आगमन संख्या स्थिर रहँदै आएको छ।
घोडेपानी पुनहिल क्षेत्र म्याग्दी आउने ९० प्रतिशतभन्दा बढी पर्यटकको प्रमुख रोजाइ बनेको छ। घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार पर्यटक आगमन अझै पनि अपेक्षा अनुसार छैन। उनका अनुसार नयाँ गन्तव्य पहिचान र प्रचारप्रसारको अभाव, पदमार्ग छोट्याउने सडक निर्माण तथा पूर्वाधारको कमीले म्याग्दीको पर्यटन क्षेत्र पछाडि परेको हो।
कोरोनाअघि म्याग्दीमा पर्यटन विस्तार हुँदै गएको थियो। आर्थिक वर्ष २०७५/७६ मा ७५ हजार १९१, २०७४/७५ मा ७४ हजार ७३३, २०७३/७४ मा ६९ हजार ८३७ र २०७२/७३ मा ४३ हजार ६३२ विदेशी पर्यटकले भ्रमण गरेका थिए।