ई-आर्थिक, काठमाडौं । ‘खोल्साको सुन’ भनेर चिनिने अलैँचीको मूल्य यस वर्षको सुरुवाती सिजनमै उच्च पुगेको छ। नेपालकै सबैभन्दा ठूलो अलैँची बजार बिर्तामोडमा सोमबार प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले जानकारी दिए। उनका अनुसार, “यो निकै राम्रो भाउ हो। गत वर्ष यतिबेला प्रतिमन ४० हजार रुपैयाँ मात्र थियो।”
हालको मूल्य विगत सात वर्षकै उच्च हो। २०७५ सालमा यो सिजनमा अलैँचीको भाउ प्रतिमन १ लाख ५ हजार रुपैयाँ पुगेको थियो भने मंसिरमा १ लाख ७ हजार रुपैयाँसम्म पुगेको थियो। यसअघि २०६७ सालमा प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म कारोबार भएको थियो। त्यसयता यस्तो मूल्यमा कारोबार नभएको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार भदौ-असोजमै भाउ चुलिनु मंसिर–पुसमा मूल्य अझै बढ्न सक्ने सङ्केत हो। अहिलेको भाउले अलैँची उत्पादन गर्दै आएका किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्। एक मन अलैँची उत्पादन गर्न करिब २० हजार रुपैयाँ लागत लाग्ने किसानहरू हालको मूल्यमा चारगुना फाइदा कमाइरहेका छन्।
किसानबाट अहिले खरिद गरिएको अलैँची व्यापारीहरूले भण्डारण गरेर मङ्सिर–पुसमा मूल्य बढेपछि बेच्ने रणनीति अपनाउने गरेका छन्। ढुंगानाका अनुसार, “किसानले बेच्ने बेला उच्च भाउ पाएपछि उनीहरू निकै उत्साहित छन्। यसपालि भाउ अझै बढ्ने सम्भावना देखिन्छ।”
नेपालका ४२ जिल्लामा अलैँचीखेती हुँदै आए पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा सबैभन्दा धेरै उत्पादन हुन्छ। कोशी प्रदेशमा ७,५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका हुँदै भारतमा ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। नेपालमा उत्पादित करिब ९० प्रतिशत अलैँची निर्यात हुने गरेको छ। तर, नेपालबाट भारत पठाइने अलैँची त्यहीं ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने भएकाले नेपाली अलैँचीले अझै अन्तर्राष्ट्रिय बजारमा सिधा पहुँच बनाउन सकेको छैन।