२०८३ साउन १२ मंगलबार

बागलुङको बिहुँ–घोडाबाँधे सडक नौ वर्षदेखि अलपत्र, यात्रु र सवारीलाई सास्ती

ई आर्थिक    सोमबार, भाद्र २ २०८२
2.9K
Shares
बागलुङको बिहुँ–घोडाबाँधे सडक नौ वर्षदेखि अलपत्र, यात्रु र सवारीलाई सास्ती

ई-आर्थिक, बागलुङ ।  नौ वर्षसम्म कालोपत्र नहुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बिहुँ–घोडाबाँधे सडकखण्डमा सवारीसाधनले सास्ती भोगिरहेका छन्।

१३ किलोमिटरमध्ये ६ किलोमिटर सडक अत्यन्तै खराब अवस्थामा रहेको छ। हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने यो सडकमा सवारीसाधन फस्ने समस्या बढ्दो छ। यात्रुहरू दैनिक सास्ती खेप्न बाध्य छन्।

बागलुङ बजारदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडकलाई दुई भागमा विभाजन गरेर नौ वर्षअघि कालोपत्रका लागि ठेक्का दिइएको थियो। तर बिहुँ–घोडाबाँधे खण्डको ६ किलोमिटर सडक अझै कालोपत्र हुन सकेको छैन।

पूर्व ठेकेदारले कार्यप्रगति नगरेपछि आठ वर्षपछि ठेक्का तोडिएको थियो। त्यसपछि पुनः २०८१ असार २१ गते नयाँ ठेक्का सम्झौता २१ करोड ४९ लाख रुपैयाँमा तामाङ/रिजाल भगवती जेभीसँग गरिएको हो। सम्झौताअनुसार दुई वर्षभित्र सम्पूर्ण पूर्वाधार र कालोपत्र गर्ने भनिए पनि एक वर्षमा जम्मा १० प्रतिशत मात्र प्रगति भएको छ।

मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार, “सडक चौडा पारिएकाले वर्षायाममा बढी हिलाम्मे भएको हो। हाल पूर्वाधार निर्माण भइरहेको छ, डोजरसहित टोली तयारी अवस्थामा छ।”

सडकको अवस्था यति खराब छ कि चितवनबाट गलकोटतर्फ जाँदै गरेको मिनिट्रक बिहुँमै फसेर चालकले हैरानी बेहोर्‍नुपर्‍यो। दर्जनौं कार र जिपहरू दैनिकजसो फस्ने गरेका छन्।

लोकमार्गको १४० किमी मध्ये अधिकांश भाग कालोपत्र भइसकेको छ, तर बिहुँ खण्डको समस्या यथावत् रहेकाले स्थानीयवासीहरू सरोकारवाला निकायप्रति असन्तुष्ट छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij