ई-आर्थिक, दार्चुला । अविरल वर्षाका कारण अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।
आइतबार रातिदेखिको लगातार वर्षाका कारण मालिकार्जुन गाउँपालिका–३, तेर्छालेक र शैल्यशिखर नगरपालिका–६, रनेबास क्षेत्रका सडकखण्डमा पहिरो खसेपछि महाकाली राजमार्ग अवरुद्ध भएको थियो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, पहिरो पन्छाएपछि सोमबार बिहान ११ बजेदेखि राजमार्ग पुनः सञ्चालनमा आएको हो। राजमार्ग खुल्ला भएपछि लामो समयदेखि रोकिएका सवारी साधन पुनः सञ्चालनमा आएका छन्।
यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् भने ट्राफिक र सुरक्षाकर्मीहरूको सहयोगमा सडक आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ।