कैलाली । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा छटपटी देखिएको टिप्पणी गरेका छन्।
आइतबार कञ्चनपुरमा आयोजित एमाले जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेस र एमालेबीच बढ्दो नजिकताले प्रचण्डमा बेचैनी देखिएको दाबी गरे। उनले भने, “समृद्धि र विकास यही सरकारबाट सम्भव छ। एमालेलाई चारैतिरबाट घेराबन्दी गर्ने प्रयास भइरहे पनि हामी मिशन–८४ सफल पार्न प्रतिबद्ध छौं।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै पोखरेलले सो पार्टी जनताको निराशा, कुण्ठा र पपुलिस्ट सोचबाट जन्मिएको दाबी गरे। “रास्वपा अहिले एमालेविरुद्ध खनिएको छ, तर अराजकता र पपुलिज्मको आयु लामो हुँदैन,” पोखरेलले टिप्पणी गरे।
उनले रास्वपाले सरकारको कारबाहीलाई ‘प्रतिशोध’ को संज्ञा दिँदै प्रचार गर्नु भ्रामक भएको बताए।
पूर्वराष्ट्रपतिलाई पुनः सक्रिय राजनीतिमा ल्याउने माओवादी प्रयासप्रति आपत्ति जनाउँदै पोखरेलले यो लोकतान्त्रिक मूल्यविपरीत भएको बताए। उनले स्पष्ट पारे, “राष्ट्रको अभिभावक र सेनाको परमाधिपति बनेको व्यक्तित्व सबैको साझा हुनुपर्छ। त्यस्ता पदमा पुगेकाले राजनीति गर्न उपयुक्त हुँदैन भन्ने एमालेको धारणा हो।”
भीम रावलप्रति लक्षित गर्दै महासचिव पोखरेलले पार्टी हितविपरीतको गतिविधि स्वीकार्य नहुने बताए। उनले भने, “पार्टीको विधि र अनुशासन पालना गर्नैपर्छ। ‘म पार्टी देखाउँछु’ भन्ने विद्रोही प्रवृत्ति स्वीकार्य छैन।”
महासचिव पोखरेलले समाजवादमाथि विभिन्न चुनौती आइरहेको उल्लेख गर्दै त्यसविरुद्ध सशक्त प्रतिवाद गर्न एमाले तयार रहेको बताए। “जनताको युगमाथि चुनौती आइरहेकाले त्यसको प्रतिवाद गर्न हामी दृढ छौं,” उनले कार्यकर्तालाई निर्देशन दिए।
उनका अनुसार, अध्यक्षको दुई वर्षे कार्यकाल हटाउने विषय दशौँ राष्ट्रिय महाधिवेशनकै पहिलो एजेन्डाको रूपमा उठाइएको र सोहीअनुसार निर्णय गरिएको हो।