२०८३ साउन ११ सोमबार

बिपी राजमार्ग आजदेखि १५ दिनसम्म राति बन्द रहने

ई आर्थिक    आइतबार, भाद्र १ २०८२
4.8K
Shares
बिपी राजमार्ग आजदेखि १५ दिनसम्म राति बन्द रहने

ई-आर्थिक, काभ्रेपलाञ्चोक ।   मनसुनजन्य विपद्‌को उच्च जोखिमका कारण आज (भदौ १ गते) बाट बिपी राजमार्गमा रातिको सवारी आवागमनमा प्रतिबन्ध लागू गरिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली सिमाना नेपालथोकसम्मको खण्डमा थप १५ दिनका लागि सवारी सञ्चालनमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार भदौ १ देखि १५ गतेसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार बाढी र पहिरोको सम्भावित जोखिम कायमै रहेकाले सावधानीस्वरूप रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो। काठमाडौँतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङमा र काठमाडौँबाट आउने सवारीलाई नेपालथोकमै रोकिने व्यवस्था गरिएको छ।

बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न स्थान जोखिमयुक्त रहेको जनाइएको छ। गत वर्षको असोजमा परेको बाढीपहिरोले चौकीडाँडादेखि वर्षे खोलासम्मको करिब ८ किलोमिटर सडक बगाएपछि केही स्थानमा अस्थायी रुपमा मात्र एकतर्फी वा दुईतर्फी सवारी सञ्चालन हुँदै आएको छ।

यसअघि असार ७ गतेदेखि सुरु गरिएको रातको सवारी बन्दको निर्णय असार मसान्त र साउन महिनाभर लम्ब्याइएको थियो। अहिले पुनः भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार १६० किलोमिटर लम्बाइको विपी राजमार्गमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर खण्डमा बाढीपहिरोबाट धेरै क्षति पुगेको छ।

पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने छोटो दूरीको मुख्य मार्ग मानिने बिपी राजमार्गबाट दैनिक हजारौँ सवारी आवतजावत गर्ने गर्छन्। राजमार्गको स्थायी पुनर्निर्माणका लागि चार वटा खण्डमा ठेक्का प्रक्रियामा काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले जोखिम क्षेत्रबाट यात्रा गर्दा अत्यधिक सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न पनि सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij