ई-आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न समयमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १९ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित व्यक्तिहरूलाई हस्तान्तरण गरेका हुन्।
विभिन्न मितिमा परेका उजुरीका आधारमा खोजी गर्दा केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट थियो भने केहीमा नक्कली नम्बर प्लेट राखिएको पाइएको थियो। ती सवारी काठमाडौं उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तिसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँ बसपार्क र बालाजु लगायतका स्थानबाट बरामद गरिएको हो।
ट्राफिक प्रहरीले चोरी नियन्त्रणमा पार्न जनसहयोग र सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।