ई–आर्थिक, काठमाडौं । महिला उद्यमी महासंघ नेपालको बागमती प्रदेश कमिटी गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा सिंहदरबारमा आयोजित कार्यक्रममा अर्पना प्रधानको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरिएको हो ।
महासंघले हालसम्म कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा कमिटी गठन गरिसकेको छ भने बागमती चौथो प्रदेश कमिटी बनेको हो । बाँकी रहेका मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा पनि छिट्टै शाखा विस्तार गरिने महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् ।
नवनिर्वाचित बागमती प्रदेश कमिटीमा उपाध्यक्षमा गीता अमात्य (नुवाकोट), सचिवमा चित्रा केसी (भक्तपुर), र कोषाध्यक्षमा ज्योत्ना सैजु (काभ्रे) रहेका छन्। त्यसैगरी सदस्यहरूमा मेनुका महतो (रामेछाप), सानुमाया गुरुङ (सिन्धुपाल्चोक), कल्पना श्रेष्ठ (दोलखा), ज्ञानु तामाङ (रसुवा) र सरिधी श्रेष्ठ (मकवानपुर) चयन भएका छन् ।
केन्द्रीय अध्यक्ष ज्ञवालीले नवगठित प्रदेश कमिटीका पदाधिकारीहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
शपथपछि अध्यक्ष अर्पना प्रधानसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूले महिलालाई आर्थिक, सामाजिक र उद्यमशिलतामा सबल बनाउने कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
महासंघले ७७ वटै जिल्लामा शाखा विस्तार गर्दै महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्य गर्दै आएको छ ।