२०८३ साउन ११ सोमबार

वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक केराखेतीमा, वार्षिक १८ लाख आम्दानी

ई आर्थिक    मंगलबार, साउन २७ २०८२
3.5K
Shares
वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक केराखेतीमा, वार्षिक १८ लाख आम्दानी

ई-आर्थिक, कञ्चनपुर ।   वैदेशिक रोजगारीबाट फर्किएका शुक्लाफाँटा नगरपालिका–१२, कालागौँडीका मोहन रानाले विगत नौ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन्। अहिले उनी तीन बिघा जमिनमा केरा उत्पादन गरी वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

रानाले दुई बिघा जमिन भाडामा र एक बिघा आफ्नै स्वामित्वमा लिएर केराखेती गर्दै आएका हुन्। उनले ‘जि–नौ’ जातको केरा रोपेका छन्, जुन जातबाट बढी उत्पादन हुने गरेको छ। गत वर्ष मात्रै उनले १८ लाख रुपैयाँ बराबरको केरा बिक्री गरेका थिए।

यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन झनै राम्रो हुनेमा उनी आशावादी छन्। केराको माग दसैं–तिहारमा उच्च हुने भएकाले रानाले त्यसै बेलालाई लक्षित गरेर उत्पादन तयारी गरिरहेका छन्। उनका अनुसार व्यापारीहरू गाडी लिएर बारीमै पुग्छन् र प्रतिघडी ५ सयदेखि ६ सय रुपैयाँसम्ममा थोक मूल्यमा केरा खरिद गर्छन्।

एक घडीमा १० देखि १५ दर्जनसम्म केरा उत्पादन हुने रानाले बताए। बाली उत्पादनका लागि रासायनिक मल, विषादी, सिँचाइ, कामदारको ज्यालाजस्ता खर्च जोड्दा करिब ४ लाख रुपैयाँ लाग्ने गरेको छ। त्यो कटाएर पनि वर्षमा करिब १० लाख रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ।

बारीको स्याहारका लागि मौसमअनुसार १०–१२ जना कामदारलाई उनले रोजगार दिँदै आएका छन्। मोहनले विगतमा भारत र मलेसियामा गरी करिब सात वर्ष विदेशमा श्रम गरे। तर, विदेशमा घर खर्च मात्र टर्ने र बचत नहुने भएपछि उनी नेपाल फर्किए। फर्किएपछि सुरुमा चार कट्ठा जमिनमा परीक्षणको रूपमा केराखेती सुरु गरेका उनले विस्तारै त्यसलाई व्यावसायिक बनाएका हुन्।

हाल उनी श्रीमतीसँगै दिनको आठ घण्टा भन्दा बढी समय खेतमा बिताउँछन्। वडाध्यक्ष नवलसिंह रानाका अनुसार मोहन न केवल आत्मनिर्भर किसान बनेका छन्, उनले गाउँका अन्य युवालाई समेत प्रेरणा दिइरहेका छन्।

हावाहुरी र जंगली हात्तीले बेला–बेला क्षति पु‍र्‍याउने गरे पनि केराखेती अन्य बालीको तुलनामा सुरक्षित र लाभदायक भएको मोहनको अनुभव छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij