ई–आर्थिक, सुर्खेत । महिला उद्यमी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शिला विश्वकर्मा (नेपाली), जाजरकोट निर्वाचित भएकी छन् । मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भेलाबाट विश्वकर्मा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् ।
महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ९ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिएको हो । कार्यसमितिमा उपाध्यक्षमा मनिषा खड्का (सुर्खेत), सचिवमा मानकुमारी बोहरा (डोल्पा) र कोषाध्यक्षमा विर्माकुमारी थलाल (सुर्खेत) चयन भएका छन् ।
सदस्यहरूमा गीताकुमारी खड्का बुढा (हुम्ला), वविता चनारा (जाजरकोट), गोमा रावल (जुम्ला), जीवी मगर (रूकुम पश्चिम) र मधु शाही (कालिकोट) चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष ज्ञवालीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख देवीलाल सापकोटा, उद्योग प्रवर्दन महाशाखाका प्रमुख खिमानन्द अर्याललगायतको उपस्थिति रहेको थियो ।