ई-आर्थिक, काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो वर्षको तुलनामा १३.७१ प्रतिशतले बढी हो।
गत वर्ष कोषको नाफा २३.७५ प्रतिशतले घटेर ३३ करोड ७३ लाख रुपैयाँमा झरेको थियो, जुन यस वर्ष फेरि उल्लेखनीय रूपमा बढेको हो।
आर्थिक वर्ष २०८१/८२ मा कोषको जम्मा आम्दानी २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले वृद्धि भएको हो। उता, कोषको खर्च ४२ करोड ४२ लाख रुपैयाँमा झरेको छ, जसमा ६.७७ प्रतिशतको गिरावट आएको छ।
कोषको प्रतिशेयर आम्दानी (EPS) भने अघिल्लो वर्षको तुलनामा १ रुपैयाँ ४१ पैसाले घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। त्यसैगरी, प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ। मूल्य–आम्दानी अनुपात (P/E Ratio) १०२.१५ गुणा पुगेको विवरणमा उल्लेख छ।
हाल कोषको चुक्ता पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणले देखाएको छ।