ई-आर्थिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिले रासायनिक मलको आपूर्ति र व्यवस्थापनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार देशभर हाल २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मल मार्गमै रहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडमार्फत मलको आपूर्ति, भण्डारण र वितरणको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। खेतीपातीको मुख्य सिजनलाई लक्षित गर्दै सरकारद्वारा मलको सुनिश्चित आपूर्ति गर्न पहल भइरहेको मन्त्रालयले जनाएको छ।
हाल कृषि सामग्री कम्पनीसँग २९ हजार ११ मेट्रिक टन मल मौज्दात छ। यसमध्ये १६ हजार ५३९ मेट्रिक टन युरिया, ७ हजार ६५३ मेट्रिक टन डिएपी र ४ हजार ९१५ मेट्रिक टन पोटास रहेको छ। उता साल्ट ट्रेडिङसँग १३ हजार ७१२ मेट्रिक टन मल मौज्दातमा रहेको छ, जसमा युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन र पोटास १ हजार ७८५ मेट्रिक टन छन्।
चालु आर्थिक वर्षमा सरकारले कुल ६ लाख मेट्रिक टन रासायनिक मल व्यवस्थापन गर्ने लक्ष्य लिएको छ। त्यसका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ।
मार्गस्थ अवस्थामा रहेको मलमध्ये ७८ हजार ३४९ मेट्रिक टन कृषि सामग्री कम्पनीका लागि र ६२ हजार १५४ मेट्रिक टन साल्ट ट्रेडिङका लागि रहेको छ। यसैबीच, अघिल्लो आर्थिक वर्षको बाँकी ३० हजार ९८३ मेट्रिक टन मल पनि मौज्दातमा रहेको मन्त्रालयले जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानलाई मल अभाव नहोस् भनेर सरकारले मलको आपूर्ति, भण्डारण र वितरणमा विशेष ध्यान दिइरहेको बताए। “किसानलाई सहज रूपमा मल उपलब्ध गराउने विषयमा सरकार गम्भीर छ,” मन्त्री अधिकारीले भने।