ई–आर्थिक, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहतका विभागका महानिर्देशकहरु धमाधम परिर्वतन हुन थालेका छन् । जलस्रोत तथा सिंचाई विभागको महानिर्देशक परिवर्तन भएको हप्ता दिन नवित्दै विद्युत विकास विभागको महानिर्देशक परिवर्तन भएका छन् ।
मन्त्रालयले विद्युत विकास विभागको महानिर्देशकमा जिवछ मण्डललाई नियुक्त गरेको छ । मन्त्रालय स्रोतका अनुसार उनलाई आजै १० बजे पत्र दिइएको थियो । पत्र प्राप्त भएको एक घण्टा नवित्दै नवनियुक्त महानिर्देशक मण्डलले विभागमा पुगेर पदभार ग्रहण गरेका छन् । स्रोतका अनुसार मण्डल मन्त्रालयका सचिव सुरेश आचार्य निकट मानिन्छन् ।
विभागका यसअघिका महानिर्देशक नविनराज सिंह थिए । उनलाई मन्त्रालयमा लगिएको स्रोतको भनाई छ । अप्रत्यासित महानिर्देशक परिवर्तनको विषयलाई लिएर निवर्तमान महानिर्देशक सिंहलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । निवर्तमान सिंह निकट स्रोतका अनुसार नियमित प्रक्रिया अनुसार नै महानिर्देशक परिवर्तन भएको हो र यसमा सिंहको कुनै गुनासो नरहेको बताए । यसलाई निवर्तमान महानिर्देशक सिंहले सहज रुपमा लिएको पनि उनी निकटको भनाई छ ।
जलस्रोत तथा सिंचाई विभाग र विद्युत विकास विभाग मन्त्रालय मातहतको मूख्य विभागको रुपमा पदर्छन् । यी विभागलाई कर्मचारीवृतमा ‘आकर्षक’ विभागको रुपमा लिइने गर्छन ।
यही भदौ १३ गते अनिवार्य अवकास प्राप्त हुन लागेका सचिव आचार्यले विद्युत विकास विभागको महानिर्देशक परिवर्तनलाई ‘अर्थपूर्ण’ तवरबाट हेरिएको हल्ला मन्त्रालयतिर चलेको छ । त्यसो त सचिव आचार्यसँगै मन्त्री दिपक खड्कालाई पनि मन्त्री पद छोडाउने तयारीमा नेपाली काँग्रेस रहेको बुझिएको छ । पार्टी उच्च स्रोतले भदौ भित्रै मन्त्री परिवर्तन हुने दाबी गरेको छ ।
यसरी सचिवको कार्यकाल सकिनै लाग्दा र मन्त्री खडकाको कार्यकाल सकिने संभावना नजिकिदै गर्दा अप्रत्यासित ढंगबाट विद्युत विकास विभागको महानिर्देशक परिवर्तनलाई मन्त्रालयवृतमा ‘अर्थपूर्ण’ भनि चर्चा चलेको छ ।
