२०८३ साउन ११ सोमबार

नाम्खाको लिमीमा खेतीयोग्य जमिन बाँझिनेक्रम बढ्दै

ई आर्थिक    बिहिबार, साउन २२ २०८२
2.5K
Shares
नाम्खाको लिमीमा खेतीयोग्य जमिन बाँझिनेक्रम बढ्दै

ई-आर्थिक,  सिमकोट ।  हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा बर्सेनि खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढ्दै गएको छ। बसाइँसराइ गरी तराई जानुका साथै छिमेकीमुलुक चीनको ताक्लाकोटमा काम गर्न जाने युवा बढेपछि जनशक्तिको अभावका कारण खेतीयोग्य जमिन बाँझिन थालेको हो।

तिलगाउँका वडा सदस्य पेन्पातुण्डुप लामाका अनुसार बर्सेनि खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढिरहेको छ। उनले बस्तीका स्थानीयले छोडेर काठमाडौं गएपछि यहाँको जमिन बाँझिएको भन्दै केही स्थानीय चीनको ताक्लाकोट गएर काम गर्ने भएकाले गाउँमा खेती हुन छोडेको बताए। उनका अनुसार तिलगाउँमा मात्र ३० हल जग्गा खेती गर्न छोडिएपछि बाँझिएको छ।

जाङगाउँको सबै जग्गा बाँझिएको स्थानीय कुञ्जोक तामाङले बताए। ‘यतिबेला उवाबाली फलेको देखिनुपर्ने जाङगाउँको खेतीयोग्य जमिन सबै बाँझो भएर झारपात मात्र उम्रिएको छ। गाउँमा ७० हलभन्दा बढी खेतीयोग्य जग्गा बाँझो छ’, उनले भने।

सबैभन्दा बढी घरधुरी रहेको हल्जीगाउँमा पनि जग्गा बाँझिनेक्रम बढिरहेको स्थानीय कोनुर्बु तामाङले बताए। यसैवर्ष हल्जीगाउँ छोडेका दुई घरधुरी र अरू ताक्लाकोट काम गर्न गएका स्थानीयको जग्गा सबै बाँझो रहेको उनको भनाइ छ।

‘जग्गाको उत्पादनले ६ महिना खाना नपुग्ने भएपछि खेतीपाती छाडेर अन्यत्र काम गर्न जानुपर्ने बाध्यता छ’, उनले भने। उनका अनुसार हल्जीगाउँमा पहिलो पटक जग्गा बाँझो भएको हो।

नाम्खा-६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङ यहाँको खेतीयोग्य जमिन बाँझो रहनु भनेको लिमी बिस्तारै मानिसविहीन हुँदै जानुको अवस्था सृजना भएको बताए। स्थानीय, प्रदेश र संघ सरकारले स्थानीयलाई आधारभूत आवश्यकतासहित रोजगारी सृजना गरी गाउँ सुनसान हुनबाट बचाउनुपर्नेमा उनले जोड दिए। लिमीका केही बस्ती मात्र नभएर सिंगो वडाका लागि जग्गा बाँझो हुँदै जानु दुःखद् पक्ष भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij