ई-आर्थिक, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सवारी दुर्घटनाको संख्या बढ्दै गएपछि पाँचवटा प्रमुख जोखिमयुक्त स्थानको पहिचान गरिने भएको छ। मुग्लिन–पोखरा सडक विस्तारका कारण सवारी चाप र निर्माणजन्य अवरोध बढेका छन्, जसले दुर्घटनाको दर समेत उच्च बनाएको छ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, दुर्घटना न्यूनीकरण गर्नको लागि दुर्घटनाको तथ्यांकका आधारमा बढी जोखिम भएका स्थानहरू पहिचान गरी त्यसमा प्राविधिक अध्ययनसहित सुधारको पहल गरिने छ।
राजमार्ग सुरक्षा तथा अवरोध हटाउने जिल्ला समन्वय समितिको बैठकले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ती स्थानहरूको पहिचान गर्न निर्देशन दिएको छ। साथै, मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी र पश्चिम खण्ड) लाई समस्या समाधानका लागि आवश्यक प्रविधिमूलक उपाय अपनाउन भनिएको छ।
उनले राजमार्गमा पर्ने अवरोध व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले तयार पारेको ‘राजमार्ग अवरोध हटाउने कार्य योजना २०८२’ समेत स्वीकृत गरिएको जानकारी दिए।
अधिकारीका अनुसार, सवारी दुर्घटनाको प्रमुख कारण सडकका निश्चित खण्डमा भइरहेका दोहोरिने घटनाहरू हुन्। चार लेनको सडक सञ्चालनमा आएपछि गति नियन्त्रण, संकेत व्यवस्था र सुरक्षा पूर्वाधारको अभावले दुर्घटना बढेको हो। यस्तो अवस्थामा तत्काल र दीर्घकालीन समाधान खोज्न आवश्यक देखिएको उनले बताए।
हाल देशभर मनसुनको प्रभावले मध्यमदेखि भारी वर्षा भइरहेकाले पृथ्वी राजमार्गका धेरै खण्डमा पहिरोको उच्च जोखिम रहेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले यस्तो अवस्थामा रातको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न सबै यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा नजिकको ट्राफिक प्रहरी वा सुरक्षा निकायसँग समन्वय गरेर यात्रा गर्न अनुरोध गरिएको छ।
कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले आज सूचना जारी गर्दै पृथ्वी राजमार्ग, डुम्रे–बेँसीसहर सडक खण्डलगायतका ग्रामीण सडकहरूमा उच्च सतर्कता अपनाउन आह्वान गरेका छन्। बर्सातको समयमा बाढी, पहिरो वा सडक अबरुद्ध हुने सम्भावना उच्च हुने भएकाले गन्तव्यसम्मको मार्गको अवस्था बुझेर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ।