ई-आर्थिक, सिरहा । लामो समय पानी नपर्दा चिन्तित भएका किसानलाई गएरातिको वर्षाले केही राहत दिएको छ। सिरहामा करिब ५० प्रतिशत मात्रै धान रोपाइँ सकिएको बेला परेको पानीले किसानमा आशा पलाएको हो।
यहाँका किसानहरूको भनाइ अनुसार, खेतमा पानी नहुँदा जमिन सुक्खा थियो, बीउ पहेँलिएको थियो र रोपाइँ गर्न सम्भव थिएन। तर गएरातिको पानीले खेत केही भिजेपछि रोपाइँ सुरु गर्न सकिने सम्भावना देखिएको छ।
लहान–१८ का किसान वीरेन्द्र चौधरी भन्छन्, “पहेँलिएको बीउ रोप्ने मौका पाउने आशा जागेको छ, तर पानी अझै पर्याप्त छैन।”
त्यस्तै लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवले पनि रातिको पानीले केही सहयोग गरे पनि अझै राम्रो वर्षा आवश्यक रहेको बताए। “एक दिन निरन्तर पानी परेको भए राम्रो हुन्थ्यो,” उनले भने, “तर आजको मौसम हेर्दा फेरि पानी पर्ने सम्भावना कम देखिन्छ।”
अधिकांश किसानले अझै रोपाइँ गर्न सकेका छैनन् ।
सिरहाको दक्षिणी भागका किसानहरूले भूमिगत पानी प्रयोग गरेर रोपाइँ गरेका छन्। तर उत्तरी क्षेत्रका धेरै किसानहरू अझै पानीको पर्खाइमा छन्। कृषि ज्ञान केन्द्र सिरहाको अनुसार, जिल्लामा हालसम्म करिब ५० प्रतिशत मात्रै धान रोपिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुन सक्रिय छ, तर यसले मधेसमा पर्याप्त पानी दिन सकेको छैन। विभागका अनुसार, पछिल्लो २४ घण्टामा मधेसका केही ठाउँमा हल्कादेखि मध्यम मात्रामा मात्रै वर्षा भएको छ।
सिरहा र आसपासका ठाउँमा मापन गरिएको वर्षा
सिरहा — ९९.४ मिमी
लहान — ७७.२ मिमी
सप्तरी (बरमझिया) — ९१.८ मिमी
धनुषा (हर्दिनाथ) — ४७ मिमी
चिसापानी — ६८.२ मिमी
गोलबजार — ५२.२ मिमी
गौशाला — ५७.६ मिमी
सर्लाही — ४८ मिमी
बारा, पर्सा र रौतहटमा भने सानो परिमाणमा मात्रै पानी परेको छ। अब बाँकी खेतमा रोपाइँ गर्नका लागि अझै केही दिन पानी पर्नुपर्ने आवश्यकता देखिएको छ। किसान, कृषि कार्यालय र मौसम विभाग सबैले आस गर्ने कुरा अबको मौसममा भर पर्छ।