ई-आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा पानीजन्य सङ्क्रमणको जोखिम उच्च हुने भएकाले उपभोक्तालाई उमालेको पानी मात्र पिउन आग्रह गरेको छ।
काठमाडौं महानगरका कृषि तथा पशुपक्षी विभाग प्रमुख नुरनिधि न्यौपानेले बर्खामा ठाउँ–ठाउँमा सहजै पानी पाइने भए पनि केही उत्पादक कम्पनीहरूले मापदण्डविपरीत पानी बिक्री गर्ने सम्भावना रहेकाले उपभोक्ताहरूलाई सचेत रहन आग्रह गरे। उनले पानीजन्य रोग नियन्त्रणका लागि उत्पादनदेखि वितरणसम्मको प्रणालीमा नियमित अनुगमन गरिरहेको जानकारी दिए।
महानगरले गएको असार महिनामा मात्र १५९ वटा मापदण्डविपरीतका जारहरू नष्ट गरेको छ। कुच्चिएको, फुटेको वा भित्रको पानी नदेखिने अपारदर्शी जारको प्रयोग नगर्न समेत कामपाले उपभोक्तालाई आग्रह गरेको छ।
सहर भित्रिने नाकाहरूमा अनुगमन टोली परिचालन गरी पानी ढुवानी गर्ने सवारीसाधन तथा जारहरूमा कडाइपूर्वक महानगरले निगरानी गरिरहेको छ। अनुगमनमा कमी भेटिएका पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड पालना गर्न, जारमा स्पष्ट लेबल राख्न, र बिलबीजकसहित ढुवानी गर्न निर्देशन दिइएको जनाइएको छ।
हैजा नियन्त्रणको तयारीस्वरूप, कामपाले समुदाय तहसम्म पुगेर पिउने पानीको नमूना परीक्षण गर्ने योजना बनाएको छ। साथै, महानगरका सबै वडामा अभिमुखीकरण कार्यक्रम सुरु गर्ने तयारी भइरहेको जानकारी महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषि भुसालले दिएका छन्।
उनका अनुसार, यो वर्ष मनसुन छिट्टै प्रवेश गरेको र नियमित रूपमा वर्षा भइरहेकाले हैजाका बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। विगतका वर्षहरूमा बल्खु, कालीमाटी र टंकेश्वर क्षेत्र हैजाको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिएका थिए।