२०८३ साउन ११ सोमबार

सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५४५ घरको बीमा

ई आर्थिक    बिहिबार, साउन १५ २०८२
4.5K
Shares
सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५४५ घरको बीमा

ई-आर्थिक, जुम्ला।  यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको बीमा गरेको छ। पालिकाका ६ वटै वडामा दुईजना तथ्यांक संकलन गर्ने कर्मचारी परिचालन गरी सङ्ख्या निर्धारणसहित घर बीमा गरिएको हो।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममार्फत सिञ्जाका एक हजार ५४५ घरको बीमा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

प्रदेश सरकारको गत आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि-२०८१’ मन्त्रिपरिषद्‌बाट गत फागुन १३ गते पारित भइ कार्यान्वयनमा आएको हो।

उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्यांकन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिञ्जाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको अध्यक्ष धितालले बताए।

कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २३ लाख रूपैयाँको बीमांक बराबरको जोखिम मूल्यांकनबाट हुन आउने बीमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ। बीमा लागु भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्‌बाट क्षतिग्रस्त भएका परिवारले क्षतिपूर्ति पाउनेछन्।

एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिए। घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको जनाउँदै उनले चालु आवमा बीमाका लागि प्रदेश सरकारले चार करोड ७५ लाख रूपैयाँ बजेट छुट्याएको उल्लेख गरे।

प्रदेश सरकारले ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बीमा गरेको प्रदेशस्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। चालु आव २०८२/८३ मा विपद् बीमाका लागि तीन करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij