२०८३ साउन १२ मंगलबार

‘उर्जामार्फत सरकारले बिपीले देखाएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको छ’

ई आर्थिक    मंगलबार, साउन ६ २०८२
4K
Shares
‘उर्जामार्फत सरकारले बिपीले देखाएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको छ’

ई-आर्थिक, काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देखाएको  समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन् ।

बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण कार्यक्रम’मा उनले ऊर्जामार्फत बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताएका हुन् ।

मन्त्री खड्काले बिपी कोइरालालाई नेपाली जनचेतना र अधिकारका प्रतीकका रूपमा स्मरण गरे । “बिपी कोइराला अन्तरराष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व मात्र होइन, उहाँको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्”, मन्त्री खड्काले भने।

उनले बिपीले आफ्नो व्यक्तिगत जीवनको सुख सुविधा र सुरक्षाभन्दा विचार तथा मूल्यलाई महत्व दिएको बताए । मन्त्री खड्काले बिपी कोइरालाको दीर्घ सङ्घर्षले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गरे । “बिपीले जेल, यातना र आत्मनिवेदन सहनुभयो । तर, जनताप्रति विश्वास गुमाउनु भएन, आज पनि उहाँले देखाएको बाटो हाम्रो मार्गदर्शन हो”, उनले भने ।

राज्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वबोध बिपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने उनको भनाइ थियो । मन्त्री खड्काले बिपीको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गरे।

मन्त्री खड्काले बिपीको आत्मनिर्भर राष्ट्र निर्माणको सोचसँग ऊर्जा क्षेत्रको विकासलाई जोड्दै लगिएको बताए । “आज हामी ऊर्जा उत्पादन, प्रसारण र विस्तारमा आत्मनिर्भरतातर्फ लम्किरहेका छौँ, बिपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक छ”, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij