२०८३ साउन १० आइतबार

व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै व्यवसायीले उद्योग दर्ता गर्न छोडे

ई आर्थिक    बिहिबार, साउन १ २०८२
4.2K
Shares
व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै व्यवसायीले उद्योग दर्ता गर्न छोडे

ई-आर्थिक, स्याङ्जा । जिल्लामा उद्योग तथा पसलको संख्या दिनानुदिन घट्दो छ। उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन्।

आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको संख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार आव २०८१/८२ मा एकसय ७७ नयाँ उद्योग दर्ता भएकामा दुई सय ६३ वटा खारेजी भएका छन्। वाणिज्यतर्फ सोही आवमा एक सय ४२ वटा नयाँ दर्ता भएकामा एक सय ९७ वटाको दर्ता खारेजी गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा दुई सय ५० वटा नयाँ उद्योग दर्ता भएका थिए। सोही आवमा दुई सय २६ वटाको दर्ता खारेजी भएको थियो। वाणिज्यतर्फ एक सय ८५ वटा नयाँ दर्ता हुँदा दुई सय ३४ वटाको दर्ता खारेजी भएको उनकाे भनाइ छ।

विगतका तुलनामा पछिल्ला वर्षमा व्यापार व्यवसाय घटेकाले उद्योग तथा व्यापार व्यवसाय दर्ता खारेजी गर्न निवेदन बढी आएको जनाइएको छ। खारेजी भएकामा बढी कृषि तथा पशुपालन फार्म, खाजा घर, रेष्टुरेन्ट, कुटानीपिसानीका उद्योग, फेन्सी पसल छन्।

अनुदान लिन फार्म सञ्चालन गर्ने र अनुदान लिएपछि फार्म बन्द गर्ने पनि देखिएका छन्। उद्योग तथा व्यापार व्यवसायको दर्ता खारेजी हुनु अर्थतन्त्रका दृष्टिले राम्रो संकेत नभएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ बताउँछन्।

पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण पनि उद्योग तथा व्यापार व्यवसायमा कठिनाई भएकाले खारेजी गर्ने बढेका हुनसक्ने उनको भनाइ छ। आव २०८१/८२ मा विविध शीर्षकबाट पर्यटन तथा उद्योग कार्यालयले ५५ लाख ५५ हजार सात सय ७० रुपैयाँ राजस्व संकलन गरेको थियो।

आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा २२ लाख बढी राजस्व संकलन भएको हो। नवीकरण गर्न एक वर्ष नाघेका फाइल जरिवाना भुक्तानी गरेर नवीकरण गर्न पाउने नियम आएसँगै गत आवमा राजस्व बढेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij