ई-आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले असार २९ गते अर्थात आइतबार आगामी आर्थिक वर्ष २०८२/२०८३को बजेट ल्याउने भएको छ । आज बसेको ४० औं नगरकार्यपालिका बैठकमा आइतबार बजेट आउने मेयर बालेन्द्र शाहले बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले १७औं नगरसभा दिउँसो २ बजे बस्ने मेयर शाहले बताए । साथै बिहान ९ बजे नगरकार्यपालिका बैठक बस्नेछ उनले भने ।
महनगरको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो । शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए । नगरकार्यपालिकबाट प्रस्ताव पारित भएपछि बैठक सकिएको थियो ।
मेयर बालेनले कार्यपालिकाको बैठक १ महिनमा सकेका थिए ।
बजेट सीमा २५ अर्ब ११ करोड
आजै बसेको महानगरपालिकाको राजस्व परामर्श समिति बैठकले बजेटको सीमा २५ अर्ब ११ करोड रूपैयाँ तोकेको हो ।
महानगरको राजस्व परामर्श समिति बैठकले आगामी वर्षका लागि बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिकको पूर्वतयारी अघि बढाएको हो।
काठमाडौं महानगर प्रमुख शाहको अध्यक्षतामा काठमाडौं प्लाजास्थित कार्यालयमा बैठक बसेको थियो ।
मेयर शाहले जनअपेक्षाअनुसार विकास निर्माणका कार्यलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।
अन्तत काठमाडौं महानगरको बजेट आउने पक्का भएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण महानगरको बजेटमा अन्योलता उत्पन्न भएको थियो ।