२०८३ साउन १० आइतबार

चैते धानको उत्पादन वृद्धिभएपनि मूल्य नपाउँदा किसान समस्यामा

ई आर्थिक    मंगलबार, असार १० २०८२
4.4K
Shares
चैते धानको उत्पादन वृद्धिभएपनि मूल्य नपाउँदा किसान समस्यामा

ई-आर्थिक, काठमाडौं ।  चैते धानको उत्पादन वृद्धि भएपछि बिक्रीमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् ।

अघिल्लो वर्ष करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुँदा बजारको मागअनुसार आपूर्ति हुनसकेको थिएन ।

चालु आर्थिक वर्षमा करिब चार लाख मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले गतवर्ष धानको बिक्री गरी किसानले राम्रो आम्दानी गरेकाले यस वर्ष दोब्बर उत्पादन गरेकाले भण्डारण तथा बिक्रीवितरणमा समस्या आएको बताउनुभयो ।

सरकारले गत वर्ष प्रतिक्विन्टल रु. दुई हजार ८०८ समर्थन मूल्य तोकेको थियो । धानको नयाँ जात, बीउबिजन, सिँचाइ प्रणाली, उत्पादन लागतको मूल्याङ्कन गरी सरकारले समर्थन मूल्य तोक्ने व्यवस्था छ । अहिले प्रतिक्विन्टल रु. एक हजार ८०० मा सामान्य बिक्री भएको जनाइएको छ ।

धान समर्थन मूल्यमा खरिद गरी भण्डारण तथा बिक्री गर्न कृषि मन्त्रालयअन्तर्गत उद्योग मन्त्रालयमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पत्राचार गरेको छ । यसो गर्दा नपुग रकम अर्थ मन्त्रालयमार्फत उपलब्ध गराउन तयारी गरिएको छ ।

तराई तथा भित्री मधेसका करिब ३५ जिल्लामा धानबाली पाकेर भित्र्याउने तयारी गरिएको छ । एक लाख ३० हजार हेक्टर जमिनमा धानखेती गरिएको छ । चालु आर्थिक वर्षमा प्रतिक्विन्टल रु. दुई हजार ८५८ समर्थन मूल्य तोकेको छ ।

अखिल नेपाल किसान महासङ्घका इन्चार्ज बलराम बाँस्कोटाले चैते धानले किसानको लगानी पनि नउठेको गुनासो गर्दै सरकारले अविलम्ब त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij