ई–आर्थिक, काठमाडौं । नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवनकुमार आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । यसअघि आचार्य संघको महासचिव थिए । संघको शनिवार सम्पन्न आठौं अधिवेशन तथा वार्षिक साधारणसभामार्फत आचार्यको नेतृत्वमा सर्वसम्मत १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको पदावधी तीन वर्षको हुनेछ । यसअघि संघको नेतृत्व अञ्जन पुडासैनीले गरेका थिए ।
अध्यक्षमा निर्वाचित पवनकुमार आचार्य संस्थाको संस्थापक महासचिवसमेत हुन् । युवा जोश भएका उर्जावान अध्यक्ष आचार्य कुशल एव सफल आयातकर्ताको रुपमा परिचित छन् । मियानको स्थापना कालदेखि आयातकर्ताको पक्षमा राज्यका निकायसंगको वार्ता, समन्वय तथा आवश्यक पर्दा आन्दोलनको मोर्चाको नेतृत्व गरेर आचार्यको देशका सबैजसो राजनीतिक दल, विभागीय मन्त्री, कर्मचारीमाझ निडर तथा आयातकर्ताको पक्षमा तार्किक कुरा राख्न सक्ने व्यक्तित्वको रुपमा परिचित छन् ।
संघका दुई जना उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन् । वैद्य नेपालको औषधी क्षेत्रको एक प्रतिष्ठित र परिचित व्यक्तित्व हुन् भने कयाल वीरगञ्जस्थित पुस्तौं–पुस्तादेखि यस क्षेत्रमा योगदान दिँदै आएको परिवारका सदस्य हुन् ।
महासचिवमा युवा जोश जाँगरका धनी एवं सक्षम व्यवसायी मधु पौडेल, सचिव पदमा निर्वाचित सुरेश अग्रवाल औषधि क्षेत्रमा धेरै पुरानो समयदेखि योगदान दिँदै आएका हुन् भने बहुराष्ट्रिय औषधि कम्पनीका औषधिहरु नेपाली जनतामाझ पुर्याउँदै आएका व्यक्तित्वसमेत हुन् ।
कोषाध्यक्षमा युवा जोशका धनी औषधि व्यवसायी सन्दीप खनाल निर्वाचित भएका छन् । खनाल लामो समयदेखि यो व्यवसायमा आवद्ध गरि कुशल कार्य सम्पादन गर्दै आएका छन् ।
कार्यसमिति सदस्यहरूमा वर्षौँदेखि नेपालको औषधि क्षेत्रलाई आफ्नो तन–मनले सेवा दिँदै आएका पुराना एवं परिचित व्यक्तित्व मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, चन्द्रशेखर रूङ्टा, राज किशोर, ख्वाजा तारिक राना, आनन्द चौधरी, सुरज टिब्रेवाल, निरजकुमार झा, डा. आनन्दा राजभण्डारी (महिला सदस्य), शितोष शाह, डा. अब्बुल हुसेन अन्सारी निर्वाचित भएका छन्। एक जना थप सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।

कार्यसमितिका सदस्यहरुमा नेपाल अधिराज्यभरीका आयातकर्ता समावेश गरिएकोले यो कार्यसमिति नेपालको औषधि क्षेत्रमा एउटा कुशल नेतृत्व र उदाहरणीय समिति रहने बोध हुन्छ ।
कार्यक्रममा बोल्दै संघका नव निर्वाचित अध्यक्ष पवन आचार्यले पोषराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको औषधिको मूल्य नीतिसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा आफूहरुको साथ नहुने स्पष्ट पारेका छन् ।
आचार्यले औषधिको मूल्य समायोजन गर्ने कुरामा आयातकर्ताहरू सधैँ सकारात्मक रहेको र राज्यलाई साथ दिन तयार रहेको भए पनि पछिल्लो पटक बुझाइएको कार्यादलयको प्रतिवेदनले औषधि आयातमा अंकुश लगाउन खोजिएकोले त्यसको विरोधमा आफूहरू उत्रिएको बताए ।
त्यसअघि, उद्घाटन सत्रमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरोकारवालाको कुरा नसुनी एकपक्षीय रुपमा तयार गरिएको प्रतिवेदन आफैँमा अपारदर्शी र न्यायोचित नदेखिएको आरोप लगाएका थिए । उनले प्रतिवेदनले चिकित्सक वर्गलाई बदनाम गर्न खोजिएको, औषधिको मूल्य बढाउने तत्त्व चिकित्सक भएको जस्तो गरी देखाइएको भन्दै आक्रोश पोखेका थिए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिवेदनको बचाऊ गरेका थिए । उनले अनावश्यक र आधारहीन रूपमा औषधि आयातका लागि दवाव दिने काम भएको आरोप लगाएका थिए । ढकालले प्रतिवेदनमा भएका कुराहरुलाई कार्यान्वयन गराउनु पर्ने पक्षमा आफू रहेकोसमेत बताएका थिए ।