ई–आर्थिक, काठमाडौं । श्री दक्षिणकाली युवा समूहले ‘नगरकोट भ्रमण बर्ष २०८२’ लाई सफल बनाउन आयोजना गरेको साइकल र्याली तथा हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । आज असार ७ गते शनिवार विहान ७ः०० बजे एक औपचारिक कार्यक्रमको आयोजना गरी र्यालीको आयोजना गरिएको थियो ।
ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भएको उक्त साइकल र्याली चुनदेवी मन्दिर, डाडाँपाटी, फैढोका, सौडोल, गोठालेचौर, नाला गुम्बा अमलडोल, हाइकिङ ट्रेल नालागढी, खावा भ्यू टावर कलमसी, ठूलो ब्रम्हायणी मन्दिर, सुडाल, ताथली राममन्दिर हुँदै ताथली फैढोकामा आएर टुंगिएको थियो ।
र्यालीको रुट स्थानीय पर्यटकीय स्थान र विशेष महत्वका स्थान हुँदै तय गरिएको थियो ।
‘भक्तपुर–ताथली–नालागढी साइकल र्याली तथा हाइकिङ कार्यक्रम’ नाम दिइएको उक्त र्यालीको आकर्षणका रुपमा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह विशेष अतिथिका रुपमा आमन्त्रित गरिएको थियो । पर्यटकीय स्थान नगरकोटको भ्रमण बर्ष २०८२ लाई सफल बनाउन आयोजना गरिएको विशाल साइकल र्याली तथा हाइकिङ कार्यक्रममा सहभागी हुन पाएकोमा विश्व साइकल यात्री शाहले खुशी व्यक्त गरे । स्थानीय पुरातात्विक तथा महत्वका स्थान पहिचान गर्न समेत आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी गराउने स्थानीय युवा समूहप्रति उनले आभार व्यक्त गर्नुका साथै धन्यवाद दिए ।
उक्त र्यालीको प्रमुख अतिथिका रुपमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री रहेका थिए । प्रमुख खत्रीले एक विशेष कार्यक्रमका बीच उक्त र्यालीको उद्घाटन गरेका थिए । नगरकोट भ्रमण बर्ष २०८२ सफल बनाउन आयोजना गरेको उक्त र्याली आयोजकप्रति आभार व्यक्त गर्दै धन्यवादसमेत ज्ञापन गरे ।

स्थानीय सरोकारका विषयमा उक्त युवा समूहले गर्ने कार्यक्रमहरु प्रशंसनीय रहेको बताए । यो युवा समूहले गर्ने कार्यक्रमले समाज परिवर्तनमा समेत योगदान पु¥याइरहेको उनले चर्चा गरे ।
केही विदेशीसहित २५० बढी साइकल यात्री सहभागी रहेको उक्त कार्यक्रममा वडा अध्यक्षहरु, स्थानीय समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।
स्थानीय महत्वका स्थान र पर्यटकीय गन्तब्य पहिचान गराउने उद्देश्यका साथ आयोजना गरिएको ‘साइकल र्याली तथा हाइकिङ कार्यक्रम’का संयोजक दिपक खड्काले जानकारी दिए । देशका विभिन्न महत्वपूर्ण हाइकिङ स्थानका साथै भारतको सिक्किममा समेत साइकल यात्री र हाइकिङको अनुभव लिइसकेका खड्का उक्त युवा समूहका सदस्य पनि हुन् ।
विगतमा साइकल यात्रीको रुपमा विभिन्न ठाउँको प्रचार प्रसारमा समेत सहभागी बताउँदै उनले विगतको आफ्नो अनुभवलाई सदुपयोग गर्दै आफ्नै ठाउँमा साइकल र्याली किन नगर्ने भनेर उक्त र्यालीको संयोजन गरेको बताए । आफू सदस्य रहेकै स्थानीय युवा समूहको सहकार्यमा र्यालीको संयोजन गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । र्याली कार्यक्रममा सहभागी भई भब्य र सभ्य बनाउनका लागि सहयोग गर्नुहुने सबैप्रति उनले आभार व्यक्त गरे ।
ताथलीमा दक्षिण एशियामै दुर्लभ चट्टानका रहनुका साथै थुप्रै पुरातात्विक महत्वका स्थानहरु रहेको र तिनीहरुलाई चिनाउन पनि र्याली सहयोगी हुने विश्वास उक्त युवा समूहका अध्यक्ष सुरेशराज गिरीले लिए ।

‘श्री दक्षिणकाली युवा समूह’ को बारेमा जानकारी दिंदै अध्यक्ष गिरीले अन्य युवा समूह भन्दा दक्षिणकाली युवा समूह धेरै फरक भएको बताए । राजनीति विचारधारा भन्दा माथि उठेर स्थानीयस्तरमा विभिन्न जनचासो र जनजीविकाका सवालमा युवा समूहले काम गरिरहेको उनले जानकारी दिए । ‘रक्तदान, महिलालाई प्रोत्साहित गर्दै गरिने तीज कार्यक्रम युवा समूहका नियमिति कार्यक्रम भइरहेको छ ।’ अध्यक्ष गिरीले भने– ‘केही हप्ता अघिमात्रै क्लबले जनहितका लागि निजी सवारीचालक तथा सर्वसाधारण लक्षित ट्राफिक जनचेतना र्याली कार्यक्रम ग¥यौं ।’ युवा समूहले विभिन्न सहयोगी संघ/संस्थाहरुले प्रायोजन गरेर तयार गरिएको २९ वटा जनसचेतनयुक्त सडक बोर्ड ताथली–नाला सडकका विभिन्न स्थानमा राखेको छ ।
सम्पूर्ण कार्यक्रमको संयोजन भने नविन बस्नेतले गरेका छन् ।

अन्य युवा समूहभन्दा फरक दक्षिणकाली युवा समूहले गर्ने क्रियाकलाप पनि केही फरक र सीर्जनशील नै हुने गर्छन् । सो समूहले गर्ने हरेक सामाजिक क्रियाकलाप तारिफयोग्य नै रहने गर्छ । त्यसैले पनि सो युवा समूहप्रतिको अन्यको समेत आकर्षण बढेको छ । स्थानीय ५६ जना युवाहरुको सक्रियतामा दुई बर्ष अघि स्थापना बैशाख ९ गते भएको थियो ।
धेरैले उक्त युवा समूहको सदस्यताको लागि आर्थिक प्रलोभन समेत आउने गरेपनि आफूहरुले कडाई गर्न गरेर सदस्यता नदिएको अध्यक्ष गिरीको भनाई छ । भक्तपुरको ताथलीमा रहेको उक्त युवा समूहले सदस्य बन्नको लागि आचारसंहिता समेत पालना गर्नुपर्ने अध्यक्ष गिरीले बताए ।
