२०८३ साउन १० आइतबार

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ४ अर्ब रहने, बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रमा

ई आर्थिक    शुक्रबार, असार ६ २०८२
5.9K
Shares
मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ४ अर्ब रहने, बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रमा

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले  मधेश प्रदेशको अर्ध वार्षिक अध्ययन प्रतिवेदन प्रस्तुत गरेको छ ।  केन्द्रीय बैंकका अनुसार मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ३६.७० प्रतिशत रहेको छ । सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१५ प्रतिशत रहेको तथ्यांक देखाएको छ ।

राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लाहरूमा भएका आर्थिक गतिविधि अध्ययन अन्तर्गत स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क एवं राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कका आधारमा तयार गरिएको आर्थिक वर्ष २०८१/ ८२ को प्रथम अर्ध—वार्षिक अध्ययन प्रतिवेदन प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०८१/ ८२ को कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु.६१ खर्ब ७ अर्ब रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ । त्यस्तै, मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा  रु.८ खर्ब ४ अर्ब रहने अनुमान छ ।

आर्थिक वर्ष २०८१/ ८२ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.९९ प्रतिशतले वृद्धि हुनेर मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.८८ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको (३६.७० प्रतिशत) रहेकोमा सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको (०.१५ प्रतिशत) रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन यू.एस. डलरमा ९३२ हुने अनुमान रहेको छ ।

कृषि क्षेत्र

समीक्षा अवधिमा मधेश प्रदेशमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा ८.८८ प्रतिशत र फलफूल तथा मसलाले ओगटेको क्षेत्रफल ९.३३ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको
क्षेत्रफल ४.५० प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन १.४१ प्रतिशत र फलफूलको उत्पादन ११.५२ प्रतिशतले वृद्धि भएको छ भने मसला उत्पादन १५.४६ प्रतिशत, तरकारी तथा बागवानी उत्पादन १.०७ प्रतिशतले
कमी आएको छ ।

समीक्षा अवधिमा पशुजन्य उत्पादनतर्फ दूध, मासु र अण्डाको उत्पादन क्रमशः ५.२७ प्रतिशत, १.७१ प्रतिशत र २.२० प्रतिशतलेवृद्धि भएको छ । त्यसैगरी, माछाको उत्पादन ४.१३ प्रतिशतले वृद्धि भएको
छ ।  वनजन्य उत्पादन अन्तर्गत काठको उत्पादन ११७.६० प्रतिशत र दाउराको उत्पादन ११.८६ प्रतिशतले वृद्धि भएको छ ।

२०८१ पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा रु.६४ अर्ब ६२ करोड कर्जा प्रवाह भएको छ, जुन मधेश प्रदेशमा प्रवाहित कुल कर्जाको १३.२३ प्रतिशत हुन आउँदछ ।

उद्योग क्षेत्र

समीक्षा अवधिमा अध्ययनमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा २७.६६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा १०.९९ प्रतिशतले वृद्धि भई रु.१ खर्ब २५ अर्ब १३ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१ खर्ब १२ अर्ब ७४ करोड रहेको थियो ।

सेवा क्षेत्र

समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन संख्यामा १.०७ प्रतिशतले कमी आएतापनि घरजग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा भने ८.१२ प्रतिशतले वृद्धि भएकोछ ।

२०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट परिचालन गरेको निक्षेप १३.१७ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ । कर्जा प्रवाह भने १२.१७ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ८८ अर्ब ३८ करोड कायम भएकोछ ।

पूर्वाधार र रोजगारी

मधेश प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन्। उक्त आयोजनाहरुमध्ये हुलाकी सडक मार्गको निर्माणको गति तुलनात्मक रुपमा तीव्र रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ कोपुस मसान्तसम्ममा मधेश प्रदेशबाट वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ८८ हजार ६ सय ८९ रहेको छ । यो संख्या मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २२.५६ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij