स्थानीय महत्वका स्थान, पर्यटकीय गन्तब्य पहिचान र प्रर्वद्धन गर्ने मूख्य उद्देश्य
ई–आर्थिक, काठमाडौं । भक्तपुरको ताथलीमा रहेको श्री दक्षिणकाली युवा समूहले ‘नगरकोट भ्रमण बर्ष २०८२’ लाई सफल बनाउन साइकल र्याली तथा हाइकिङ कार्यक्रमको आयोजना गर्ने भएको छ । यही असार ७ गते शनिवार विहान ७ बजे ब्रम्हायणीबाट सुरु गरिने र्याली फैढोकामा पुगेर समापन गरिनेछ । र्यालीको रुट स्थानीय पर्यटकीय स्थानका साथै विशेष महत्वका स्थान हुँदै तय गरिएको छ ।
उक्त र्यालीको प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री रहनेछन्। विशेष अतिथिको रुपमा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह रहने छन् । त्यसैगरी चाँगुनारायण नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाअध्यक्षहरुलाई सो अवसरमा आमन्त्रण गरिएको आयोजक युवा समूले जानकारी दिएको छ ।
‘भक्तपुर–ताथली–नालागढी साइकल र्याली तथा हाइकिङ कार्यक्रम’ नाम दिइएको सो कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा स्थानीय महत्वका स्थान र पर्यटकीय गन्तब्य पहिचान गराउने उद्देश्यका साथ र्यालीको आयोजना गर्न लागिएको जानकारी दिइयो । साइकल र्याली तथा हाइकिङ कार्यक्रम सो युवा समूहका सदस्य दिपक खड्काको संयोकत्वमा हुन लागेको हो ।

खड्का देशका विभिन्न महत्वपूर्ण हाइकिङ स्थानका साथै भारतको सिक्किममा समेत साइकल यात्री र हाइकिङका रुपमा पुगिसकेका छन् । उनले साइकल यात्रीको रुपमा विभिन्न ठाउँको प्रचार प्रसारमा समेत सहभागी भएको बताए । विगतको आफ्नो अनुभवलाई सदुपयोग गर्दै आफ्नै ठाउँमा किन साइकल र्याली किन नगर्ने भनेर यसपटक भने आफू सदस्य रहेकै स्थानीय युवा समूहको सहकार्यमा र्यालीको संयोजन गर्न लागिको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा संयोजक खड्काले कार्यक्रमलाई भब्य र सभ्य बनाउनका लागि सहयोग गर्न सबैसँग अपिल पनि गरे ।
कार्यक्रममा उक्त युवा समूहका बारेमा जानकारी दिंदै अध्यक्ष सुरेश राज गिरीले ‘श्री दक्षिणकाली युवा समूह’ अन्य युवा समूह भन्दा धेरै फरक भएको बताए । राजनीति विचारधारा भन्दा माथि उठेर स्थानीयस्तरमा विभिन्न जनचासो र जनजीविकाका सवालमा युवा समूहले काम गरिरहेको उनले जानकारी दिए । ‘रक्तदान, महिलालाई प्रोत्साहित गर्दै गरिने तीज कार्यक्रम युवा समूहका नियमिति कार्यक्रम भइरहेको छ ।’ अध्यक्ष गिरीले भने– ‘केही हप्ता अघिमात्रै क्लबले जनहितका लागि निजी सवारीचालक तथा सर्वसाधारण लक्षित ट्राफिक जनचेतना र्याली कार्यक्रम गर्नुका साथै २९ वटा जनसचेतनयुक्त सडक बोर्ड राख्यौं ।’

ताथलीमा दक्षिण एशियामै दुर्लभ चट्टानका साथै थुप्रै पुरातात्विक महत्वका स्थानहरु रहेको र तिनीहरुलाई चिनाउन पनि र्याली सहयोगी हुने विश्वास आयोजकले लिएको छ ।
उक्त र्याली मा सहभागी हुन ठूलो संख्याले चासो राखेपनि २०० को हाराहारी साइकल यात्री सहभागी हुने प्रारम्भीक अनुमान आयोजकको छ ।
विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले उक्त र्यालीको बारेमा भिडियो सन्देश दिंदै आफू उक्त र्यालीमा सहभागी हुन लागेको बताए । उनले आफूसँगै र्यालीमा उत्साहप्रद सहभागीताको लागि साइकल यात्रीलाई अनुरोध पनि गरे । र्याली विशेष अतिथिका साथै साइकल यात्रीको अवसर जुटाउने श्री दक्षिणकाली युवा समूहलाई धन्यवाद दिए ।

कार्यक्रममा सो युवा समूहको पूर्ण कार्यक्रमका संयोजक नविन बस्नेत, चाँगुनारायण नगरपालिकाका पर्यटन विभागका प्रमुख अतिथिको रुपमा उपस्थिति थिए । साथै कार्यक्रममा सो युवा समूहका अधिकांश पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानीय पत्रकार हरिसुन्दर छुंकाले गरेका थिए ।
अन्य युवा समूहभन्दा फरक दक्षिणकाली युवा समूहले गर्ने क्रियाकलाप पनि केही फरक र सिर्जनशील नै हुने गर्छन् । सो समूहले गर्ने हरेक सामाजिक क्रियाकलाप तारिफ योग्य नै रहने गर्छ । त्यसैले पनि सो युवा समूहप्रतिको अन्यको समेत आकर्षण बढेको छ । स्थानीय ५६ जना युवाहरुको सक्रियतामा दुई बर्ष अघि स्थापना बैशाख ९ गते भएको थियो । धेरैले उक्त युवा समूहको सदस्यताको लागि आर्थिक प्रलोभन समेत आउने गरेपनि आफूहरुले कडाई गर्न गरेर सदस्यता नदिएको अध्यक्ष गिरीको भनाई छ । उक्त युवा समूहले सदस्य बन्नको लागि आचारसंहिता समेत तय गरेको उनको भनाई छ ।
यस्तो छ ‘भक्तपुर–ताथली–नालागढी साइकल र्याली तथा हाइकिङ कार्यक्रम’ को रूट

