२०८३ साउन १० आइतबार

सशस्त्र प्रहरीद्वारा चार महिनामा एक करोड ८२ लाख बराबरको अबैध सामान जफत

ई आर्थिक    आइतबार, असार १ २०८२
3.8K
Shares
सशस्त्र प्रहरीद्वारा चार महिनामा एक करोड ८२ लाख बराबरको अबैध सामान जफत

ई-आर्थिक, रौतहट ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा एक करोड ८२ लाख ९५ हजार ६ सय ५० रूपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

गत फागुन १ गतेदेखि जेठ मसान्तसम्ममा सो रकम बराबरको विभिन्न थरीका अवैध समान बरामद भएको हो। नम्बर ११ हेडक्वाटका गणपति सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा ६९ लाख ३२ हजार रूपैयाँ मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिए।

‘सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाएसँगै अवैध चोरीपैठारीका सामान बरामद हुने क्रम बढेको छ’, उनले भने, ‘एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ।’

सोही अवधिमा ८५ लाख ६८ हजार २ सय २४ रूपैयाँ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ।

पछिल्लो चार महिनामा स्रोत नखुलेको १० लाख ६१ हजार नेपाली रूपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसैगरी स्रोत नखुलेको ६ लाख चार हजार ६४० भारतीय रूपैयाँ, सेमी अटोमेटिक पेस्तोलसमेत बरामद भएको छ।

मानवबेचबिखनमा पर्नसक्ने आशंकामा नाकाबाट १० जना नेपाली महिला उद्धार जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताए। हेडक्वाटर मातहतमा रहेका पाँचवटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij