२०८३ साउन ११ सोमबार

कुलमान घिसिङलाई नागरिक अभिनन्द, लोडसेडिङ हटेपनि अझै धेरै क्षेत्रमा अँध्यारो छ : कुलमान घिसिङ

ई आर्थिक    बिहिबार, जेष्ठ २९ २०८२
5K
Shares
कुलमान घिसिङलाई नागरिक अभिनन्द, लोडसेडिङ हटेपनि अझै धेरै क्षेत्रमा अँध्यारो छ : कुलमान घिसिङ

ई-आर्थिक, सर्लाही । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरिएको छ । लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी जेठ २८ गते बुधबार निर्वतमान कार्यकारी निर्देशक घिसिङलाई अभिनन्दन गरेको हो ।

राष्ट्रसेवामा समर्पित योगदान, दूरदृष्टि र कुशल नेतृत्वकर्ताका कारण घिसिङ सम्पूर्ण नेपाली जनताको जीवनमा उज्यालो ल्याउने प्रेरणादायी व्यक्तित्व भएको समितिले जनाएको छ । नागरिक समाजका अगुवा एवम् कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर खपाङीले विकट चेपाङबस्तीलगायत देशभरी नै करिब शतप्रतिशत विद्युतीकरण गर्न र निरन्तर घाटामा रहेको संस्थालाई नाफामा परिणत गर्न घिसिङ सफल भएको बताउनुभयो ।

जलविद्युत एवम् सौर्य ऊर्जा उत्पादनमा ऐतिहासिक फड्कोमारी देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशसम्म निर्यातको ढोका खोली देशको अर्थतन्त्र चलायमान बनाउन घिसिङले उल्लेख्य योगदान गरेको उहाँको भनाई थियो ।
नागरिक अभिनन्द मूल समितिका संयोजक धन बहादुर मिक्चनले घिसिङको अथक प्रयास, इमान्दारिता र जनउत्तरदायी नेतृत्वले राज्यको संस्थामा सेवा प्रवाहको नयाँ प्र्रतिमान स्थापित भएको बताउनुभयो । घिसिङको अभिनन्दन केवल व्यक्तिको सम्मान मात्र नभइ त्यो निष्ठा, पारदर्शिता र प्रतिबद्धताप्रतिको श्रदा भएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको,जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइएको बताउनुभयो । अहिले जनताले कुनै राजनीतिक विचारभन्दा पनि प्रभावकारी सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धि खोजेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘लोडसेडिङको अँध्यारो हटेको छ तर अझै धेरै क्षेत्रमा अँध्यारो छ त्यसलाई हटाएर उज्यालो बनाउनु पर्नेछ, हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गरी वार्षिक रुपमा करिब ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ, यो देशको कुल ग्राहस्र्थ उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ, स्वच्छ एवम् हरित ऊर्जाको रुपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौं भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij