ई-आर्थिक, उदयपुर । जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ। सदरमुकाम गाईघाटबाट रौता-सल्ले, रौता-भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेका विष्णु पाठकले बताए।
शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय पहिराले पुरिएका उनकाे भनाइ छ। रौता-नामन्त, रौता-आँपटार, नामेटार-ओख्रेनी, रामेटार-भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका स्थानीय डिल्लीराम मगरले जानकारी दिए।
रौता-मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएको स्थानीय दिव्यराज मगर बताउँछन्। निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको माझखर्कका जम्बु शेर्पाले बताए।
मुर्कुची-डिल्लीबर-माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ। उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा-बर्रे, डुम्रे-उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको डुम्रेका गंगा मगरले बताए।
बेलका नगरपालिका-८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ। शनिबारको वर्षाका कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएकाे छ। रासस