ई-आर्थिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको नविकरण गर्दा लाग्ने शुल्क तथा हर्जनामा दिइने ५० प्रतिशत छुटको सुविधालाई आगामी असार ५ गतेसम्म थप्ने भएको छ। कम्पनीले २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा गएको फागुन १५ गतेदेखि जेठ १३ गतेसम्म प्रदान गरिएको छुटको अवधि बीमितहरुको व्यापक मागका कारण अन्तिम पटकका लागि असार ५ गतेसम्म थप गरिएको जनाएको छ।
कम्पनीका अनुसार, बीमितहरूले १८० दिनभन्दा बढी अवधि बितेका बीमालेखहरूलाई मिति २०८१ साल फागुन १५ गतेदेखि २०८२ साल जेठ १३ गतेभित्र नविकरण गरेमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउदै आएका छन्। अब उक्त सुविधा असार ५ गतेसम्म प्रयोग गर्न सकिनेछ।
नेपाल लाइफले जुनसुकै अवधि भएका बीमालेखहरूमा पनि यो छुटको सुविधा लागू गरेको छ। कम्पनीले यस भन्दा अगाडी यति धेरै छुट प्रदान गरेको थियो।
योजना अनुसार, पुनः जागृत गरिएका बीमालेखहरू समर्पणको मितिबाट एक वर्षभित्र समर्पण भएमा दिइएको छुट रकम बीमालेखबाट कट्टा गरिनेछ। साथै, एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितहरूलाई भविष्यमा बीमा अवधिभर पुनः यस्ता छुट उपलब्ध नहुने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले सबै बीमितहरूलाई सो सुविधा समयमै उपयोग गर्न अनुरोध गरेको छ।