ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आज प्रतिनिधिसभामा आर्थिक वर्ष ०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन् ।
आज विहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले उक्त सर्वेक्षण पेश गर्न लागेका हुन् ।
संसद् सचिवालयद्वारा सार्वजनिक कार्यसूचीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, वन तथा वातावरणमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएपछि आर्थिक सर्वेक्षण पेस गरिनेछ ।
सरकारले प्रत्येक वर्ष बजेटभन्दा अघिल्लो दिन आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आएको छ । यो सर्वेक्षणले मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारका नीति तथा कार्यक्रमको प्रभाव, तथा आर्थिक सूचकांकहरूको विश्लेषण प्रस्तुत गर्छ ।
सर्वेक्षणमार्फत आर्थिक वृद्धि, महँगी, व्यापार घाटा, राजस्व संकलन, सार्वजनिक संस्थानहरूको आम्दानी(नाफा(घाटा लगायतका तथ्यांक सार्वजनिक गरिनेछ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणमा यही सर्वेक्षणलाई आधार मानिने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिन्छ । सरकारले आगामी जेठ १५ गते नयाँ बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।