२०८३ साउन ११ सोमबार

कुमारी बैंकको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजना निर्माणको वित्तीय व्यवस्थापन पूरा

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०८२
6.6K
Shares
कुमारी बैंकको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजना निर्माणको वित्तीय व्यवस्थापन पूरा

ई-आर्थिक, काठमाडौं ।  कुमारी बैंक लिमिटेडको अगुवाइमा निर्माण हुन लागेको ९० मेगावाट क्षमताको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिकाको भूभाग भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रा.लि. द्वारा यो आयोजना निर्माण गरिनेछ।

बैशाख ३१ गते सम्पन्न भएको उक्त सम्झौतामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको संयुक्त लगानीमा १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बराबरको ऋण प्रवाह गरिनेछ।

सम्झौता कार्यक्रममा एमए पावर प्रा.लि. का अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेड का प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्का लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

आयोजनामा अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालले व्यक्तिगत रुपमा स्वपूँजी लगानी गर्नेछन्। साथै, डोल्मा इम्प्याक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी गर्ने कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिएका छन्।

उक्त समूहकै नेतृत्वमा सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत निर्माण भइरहेको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको समेत जानकारी दिइएको छ।

आयोजनाको नेपाल विद्युत प्राधिकरण (NEA) सँग २०८० साल कार्तिक १ गते विद्युत खरिद बिक्री (PPA) सम्झौता भइसकेको छ। व्यापारिक उत्पादन सुरु गर्ने मिति २०८६ साल बैशाख २२ गते तोकिएको छ।

आयोजनाको पर्यावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको र, निर्माण कार्य छिट्टै सुरु हुने कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादित विद्युत् २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर टाढाको नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभीमा जोडिनेछ।

यस आयोजनाले देशको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। वित्तीय संरचना, लगानीकर्ताको उत्साह र प्राविधिक तयारीका आधारमा आयोजना समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij