२०८३ साउन ११ सोमबार

यारी भन्सार कार्यालयबाट ७ लाख ५५ हजार राजस्व संकलन

ई आर्थिक    सोमबार, बैशाख २९ २०८२
2.4K
Shares
यारी भन्सार कार्यालयबाट ७ लाख ५५ हजार राजस्व संकलन

ई-आर्थिक,  हुम्ला । यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले ७ लाख ५५ हजार राजस्व संकलन गरेको छ।आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै २ महिना बाँकी हुँदा ७ लाख रुपैयाँ राजस्व संकलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए।

कार्यालयले चालु आर्थिक वर्षमा ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, हालसम्म ७ लाख संकलन भइसकेको प्रमुख जैसीले बताउँछन्। स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उनको भनाइ छ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लांकेट जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व संकलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए। चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ।

हिल्सा नाका भएर विभिन्न सामग्री आयात गर्ने यहाँका नियमित १० जना व्यापारी छन्। उनीहरुले एक वर्षमा २ पटकसम्म चीनबाट सामान ल्याउने गरेका छन्।व्यापारीहरुले एक पटक ल्याएको विभिन्न सामानबाट ४५ हजारसम्म राजस्व तिर्ने गर्ने गरेका छन्।

चीनमा काम गर्न गएका कामदारले १५ हजार रुपैयाँसम्मको घरायसी सामान ल्याउनेलाई राजस्व छुट दिइएको छ। त्यसभन्दा माथिको मूल्यका सामान ल्याउनेबाट राजस्व लिने गरिएको छ। चीनबाट हिल्सासम्म सामान ल्याउन साना व्यापारीले कामदार पठाउने गरेका छन्। ठूला व्यापारीले उतैबाट सामान सिल गरेर गाडीमार्फत हिल्सासम्म ल्याउने गरेको उनले बताए।

यस नाकाबाट आर्थिक वर्ष २०८०/८१ मा २२ लाख राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०७९/८० मा भने १४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। यारी नाका भन्सार कार्यालय वर्षमा ६ महिना मात्रै सञ्चालन हुने गरेको छ। हिउँदयाममा हिमपात भएर नाका ६ महिना बन्द हुन्छ। यही बैशाख १३ गतेदेखि यारी नाका भन्सार कार्यालय सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij