२०८३ साउन १० आइतबार

सान्भि इनर्जीको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

ई आर्थिक    शुक्रबार, बैशाख १९ २०८२
6.1K
Shares
सान्भि इनर्जीको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

ई-आर्थिक, काठमाडौं ।  सान्भि इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले बैशाख ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले ८८ करोड रुपैयाँ बराबरको जारी पूँजीको १० प्रतिशत, अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ।

यी शेयरहरू इलाम जिल्लाको विभिन्न वडाका स्थायी बासिन्दाहरूले आवेदन दिन सक्नेछन्, जसमा इलाम नगरपालिका वडा नं. १०, माईजोगमाई गाउँपालिका वडा नं. १, माईगोजमाई गाउँपालिका वडा नं. ३ र ४, सूर्योदय नगरपालिका वडा नं. १० र ११ समावेश छन्।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ करोड ९१ लाख रुपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको छ। आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म माग गर्न सकिनेछ।

आईपीओको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘CARE-NP BB+ (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

सान्भि इनर्जीले प्रवर्द्धन गरिरहेको ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ। आयोजनाको कुल लागत १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रहेको छ भने विद्युत अनुमतिपत्रमा २३ वर्ष १ महिना बाँकी छ। यस आयोजना अन्तर्गत लगानी फिर्ता हुने सामान्य अवधि ५.५३ वर्ष र डिस्काउन्टमा ८.२९ वर्ष रहेको बताइएको छ।

त्यस्तै, कम्पनीको ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब ९१ लाख रुपैयाँ रहेको छ। उक्त आयोजनाको विद्युत अनुमतिपत्रमा ३० वर्ष ११ महिना बाँकी रहेको छ, भने साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष र डिस्काउन्टमा ११.१० वर्ष रहेको कम्पनीले जनाएको छ।

आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले तोकिएका संकलन केन्द्रहरू, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखाहरू, र नबिल बैंकको फिक्कल शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij