पोशकराज पौडेल
अध्यक्ष
जीबन बीमक संघ नेपाल
समग्र जीवन बीमाको बजार कस्तो छ ?
तुलनात्मक रुपमा हेर्ने हो भने जीवन बीमाको बजार बढिरहेको छ । केही वर्ष अगाडिको कुरा गर्ने हो भने ६–७ प्रतिशतले मात्र बीमा गरेको पाइन्छ । तर अहिले १७ प्रतिशत भन्दा बढीले बीमा गरेको पाइन्छ । यो भने धेरै राम्रो वृद्धिदर हो । सार्क मुलुकमा हेर्ने हो भने नेपालले गरेको वृद्धिदर अत्यन्तै उत्साहप्रद छ । भारत, पाकिस्तान, बंगलादेश भन्दा राम्रो वृद्धिदर नेपालमा रहेको छ । यसरी समग्रमा हेर्दा नेपालको जीवन बीमाको वृद्धिदर धेरै राम्रो भन्न सकिन्छ ।
अहिले पोलिसी सरेन्डर गर्नेको संख्या ह्वात्तै बढेको छ भनिन्छ । के साँच्चै ग्राहक बीमाको प्रिमियम तिर्न नसक्ने गरी आर्थिक रुपमा कमजरो भएकै हुन त ?
पहिला पनि पोलिसी सरेन्डर गर्ने गरेको पाइन्थ्यो । अहिले जस्तो सामाजिक संजाल र डिजिटलका माध्यम नभएकाले त्यति बाहिर आउँदैन थिए । र, हामीलाई थाहा हुदैनथ्यो । अहिले भने सामाजिक संजालले गर्दा जे भएपनि सबैलाई थाहा हुन्छ । यसले गर्दा पनि सरेन्डर गर्नेको संख्या धेरै भएजस्तो लागेको हो । अर्को भनेको पहिलाको तुलनामा सरेन्डर गर्नेको संख्या बढेको छ । यसको कारण भनेको देशको आर्थिक अवस्था नै हो । यदि कोही मान्छे छाक टार्नै गाह्रो अवस्थामा छ भने उसले बीमालाई रोकेर त्यहाँ भएको पैसा निकाल्छ । त्यस्तै बीमाको वृद्धिदर बढेकोले पनि सरेन्डर गर्नेको संख्या बढे जस्ता लागेको हो ।
यस क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ भनिन्छ नि ?
प्रतिस्पर्धा त हुनै पर्छ । प्रतिस्पर्धा भएन भने ग्राहकलाई नै घाटा हुने कुरा हो । काम गर्छु भनेर आएपछि प्रतिस्पर्धाबाट डराउनु पनि हुँदैन । जहाँसम्म अस्वस्थ प्रतिस्पर्धाको कुरा छ, जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा हुदैन । किनभने कसैले जीवन बीमा गरेको छ भने उसले फेरि दोहोर्याएर अर्को बीमा गर्दैन । त्यही भएर हामीले फ्रेस मान्छेलाई मात्र बीमा गराउने हो । यहाँ यति ठूलो बजार छ किन अस्वस्थ प्रतिस्पर्धा गरेको होला भन्ने गरिन्छ । यो नबुझेर भनिएको हो । अन्य क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा होला । तर जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा हुँदैन । कसले राम्रो सेवा सुविधा दिन्छ, कसले गुणस्तरीय सेवाहरु उपलब्ध गराउँछ भन्ने जस्ता कुराहरुमा भने प्रतिस्पर्धा छ र यो हुनु पनि पर्छ ।
जीवन बीमा कम्पनीहरु आएको पनि लामो समय भइसक्यो । र, पनि आशातित रुपमा बजार विस्तार हुन सकेको छैन किन होला ?
मैले माथि नै भनिसके कि जीवन बीमाको बजार उल्लेख्य रुपमा वृद्धि भइरहेको छ भनेर । एक दशक अगाडि ६–७ प्रतिशत रहेको बजार अहिले १७ प्रतिशत भन्दा बढी छ । यो भनेको धेरै राम्रो वृद्धिदर हो । हो, हामीले जुन रुपमा जसरी वृद्धि गर्नुपर्ने हो, त्यो रुपमा वृद्धि भएको छैन । तर ‘ग्राजुयल्ली’ रुपमा जीवन बीमाको बजार विस्तार भइरहेको छ ।

अहिले बाँच्दा मात्रै होइन, मर्दा पनि पैसा चाहिन्छ । अहिले कसैको मरण घरमा हुदैन । सबैको मरण हस्पिटलमा नै हुन्छ । २०–२५ लाख नभई हस्पिटलले लास उठाउन दिँदैन । यसरी मर्दा पनि पैसा चाहिने भएकाले बीमा गर्नुपर्छ, कसैको लागि आर्थिक भार बन्नु हुदैन भन्ने भावनाको विकास भएको पाइन्छ । यसले गर्दा जनताहरु बीमा गर्नुपर्छ भन्ने कुरामा जागरुक भएका छन् ।
नेपालका अभिकर्ताहरु गुणस्तरीय नभएका कारण आशातितरुपमा बजार विस्तार हुन नसकेको भनिन्छ नि ! यसमा तपाईको धारणा के छ ?
पहिला पहिला त्यस्तो थियो होला । तर अहिले त्यस्तो छैन । हामीले अभिकर्ताहरुलाई विभिन्न तालिमहरु दिइरहेका हुन्छौं । शैक्षिक योग्यता पनि पहिला ‘एसईई’ मात्र थियो भने अहिले ‘प्ल टु’ पास गरेकाहरुलाई मात्र अभिकर्ता बनाइन्छ । पछिल्लो समयमा नेपालका अभिकर्ताहरु धेरै ट्यालेन्ट र स्तरीय छन् । त्यही भएर त बीमाको वृद्धिदर बढेको हो । पहिला एउटा भारतीय अभिकर्ता आयो भने नेपालका ‘एलिट’ वर्गमा पुगेर बीमा गरेर जान्थ्यो । तर नेपाली अभिकर्ताहरु नेपालका ‘एलिट’ वर्गसम्म नै पुग्न सक्दैनन भन्ने आरोप लगाइन्थ्यो । तर अहिले त्यस्तो छैन । हाम्रा अभिकर्ताहरु जहाँ र जस्तो सुकै वर्गमा पुगेर बीमा गर्न सक्षम छन् । फेरि कुनै पनि भारतीय कम्पनीले नेपालमा बीमा गर्न पाउँदैन । पारी म्याचुअर्ड भएको पैसा नेपाल ल्याउन समस्या छ । त्यसैले पनि नेपालीहरुले भारतीय कम्पनीमा बीमा गर्दैनन् ।
तर तपाईले यसो भनिरहँदा अहिले पनि सीमा क्षेत्रमा त धेरै नेपालीहरुले भारतीय कम्पनीमा बीमा गराइरहेका छन् नि ?
होइन, मैले अघि पनि भने पहिलो यस्तो थियो होला । तर अहिले रोकिएको छ । पहिला गराएकाहरु ‘म्यचुअर्ड’ नभएकाले तिनीहरु गणानामा आएका होलान् । नयाँ छैन । भारतमा बीमा गर्दा ‘म्याचुअर्ड’ भएपछि पैसा ल्याउन गाह्रो हुन्छ भन्ने कुरा सबैले बुझेका छन् । अहिले नेपालमा भारतीय पैसा त नचल्ने अवस्था अइसकेको छ । यो सरकारी स्तरमा मात्र लागू नभएको हो । व्यवहारिक रुपमा त अहिले पनि भारतीय पाँच सयको नोट नेपालमा चल्दैन नि । यी यस्ता कारणले गर्दा भारतमा गएर बीमा गर्ने चलन हटिसकेको छ ।
तपाईहरु नाफामुखी हुनुभयो । ‘ग्रासरुट’ सम्म पुगेर बीमा गर्नुहुन्न । त्यसैले लघुबीमा कम्पनीहरु आउनुपरेको हो भन्ने गरिन्छ। के भन्नुहुन्छ ?
म त्यतातिर जान चाहन्न । तर कुरो के हो भने लघु बीमा कम्पनीहरु गाउँ केन्द्रित भएर काम गर्ने भनेर आएका हुन् । तर उनीहरुको कार्यालय हेर्ने हो भने सबै सहरमा मात्र छन् । जहाँ–जहाँ हाम्रा शाखा कार्यालयहरु छन् । उनीहरु पनि त्यही छन् । बरु हामी विकट गाउँसम्म पुरेर सेवा दिइहेका हुन्छौं । सिटिजन लाइफको मात्र कुरा गर्ने हो भने पूर्वदेखि पश्चिमसम्मका गाउँ–गाउँ सम्म पनि हाम्रो उपस्थिति छ । त्यस्तै अन्य सबै बीमा कम्पनीहरुको रहेको छ । त्यसैले हामी ‘ग्रासरुट’ सम्म नगएर लघुबीमा कम्पनीहरु आएका हुन् भन्ने गलत हो जस्तो लाग्छ ।

बाध्यता नभईकन अहिले पनि बीमा गरिदैन । स्वस्फूर्तरुमा बीमा गर्न तपाईहरुले के गर्नुपर्छ र बीमा प्राधिकरणले गर्नु पर्छ ?
बीमा भनेको ‘पुस सेल’ भनिन्छ । यो संसारमा नै यस्तै हो । पछिल्लो समय जनतामा बीमा गर्नुपर्छ भन्ने जागरण भएको पाइन्छ । अहिले बाँच्दा मात्रै होइन, मर्दा पनि पैसा चाहिन्छ । अहिले कसैको मरण घरमा हुदैन । सबैको मरण हस्पिटलमा नै हुन्छ । २०–२५ लाख रुपैयाँ नभई हस्पिटलले लास उठाउन पनि दिँदैन । यसरी मर्दा पनि पैसा चाहिने भएकाले बीमा गर्नुपर्छ, कसैको लागि आर्थिक भार बन्नु हुदैन भन्ने भावनाको विकास भएको पाइन्छ । यसले गर्दा जनताहरु बीमा गर्नुपर्छ भन्ने कुरामा जागरुक भएका छन् ।
बीमा कम्पनीहरु र बीमा प्राधिकरणले बीमा सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु गाउँ गाउँसम्म पुगेर गर्दै आइहरका छन् । अहिले जनता माझ पुग्ने छिटो माध्यम भनेको सामाजिक सञ्जाल भएको छ । हामीले सामाजिक संचालमार्फत बीमा जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छौं । बीमा प्राधिकरण र बीमा कम्पनीहरु मिलेर बीमा चेतनामुलक कार्यक्रमहरु धेरै गर्दै आइरहेका छौं । यसले गर्दा पनि बीमा गर्नेको संख्या वृद्धि भएको हो ।
नेपालको जीवन बीमाको भविष्य कस्तो देख्नुहुन्छ ?
अत्यन्तै सुन्दर र धेरै राम्रो छ । अहिलेकै कुरा गर्ने हो भने बीमाको वृद्धिदर उत्साहजनक रहेको छ । हामी अहिले पनि भारत, पाकिस्तान र बंगलादेश भन्दा राम्रो अवस्थामा छौं । अर्थात उनीहरु भन्दा हाम्रोमा बीमा वृद्धिदर धेरै रहेको छ । बीमा सम्बन्धी जनताहरु पनि जागरुक बन्दै गइरहेका छन् । पहिला बीमा कम्पनीहरु बढी भए । हाम्रो बजारले धान्न सक्दैन भन्ने गरिथ्यो । तर अहिले प्रायः सबै मर्ज भएर सानो आकारमा आइसकका छन् । अहिले देशको आर्थिक अवस्था प्रतिकुल रहेकाले मात्र अलिकति सिथिल जस्तो देखिएको हो । तर यो धेरै समय लाग्दैन । देशको आर्थिक अवस्थामा सुधार हुनासाथ फेरि बीमाको वृद्धिदरले गति लिन थालिहाल्छ । यसरी हेर्दा जीवन बीमाको भविष्य अत्यन्त उज्वल देख्छु म त ।