२०८३ साउन ११ सोमबार

‘बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास तीव्ररुपमा भइरहेको छ’

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०८२
15.3K
Shares
‘बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास तीव्ररुपमा भइरहेको छ’

सुशिलदेव सुवेदी

कार्यकारी निर्देशक

नेपाल बीमा प्राधिकरण

नेपालको बीमाको बजारलाई बीमा प्राधिकरणले कसरी हेरिरहेको छ ?

नेपालमा बीमाको बजार दिनप्रतिदिन राम्रो हुँदै गइरहेको छ । पहिला भन्दा अहिले धेरै मानिसहरु बीमाप्रति जागरुक भएको पाइन्छ । अहिले बीमाको बजार बढिरहेको छ । यस क्षेत्रमा चुनौती र समस्याहरु भएता पनि धेरै भन्दा धेरै अवसरहरु छन् । समग्ररुपमा भन्नुपर्दा बीमाको वृद्धिदर बढिरहेको छ । आम मासिनले यसलाई बुझ्न थालेका छन् । र, उपयोग गर्ने क्रम पनि बढिरहेको छ । अर्को कुरा बीमाबाट गरिबी न्युनिकरण गर्ने नीति राज्यले राखेको छ । तीव्रगतिमा अगाडि बढेको देखिन्छ । अहिले बीमाको बजार आकारले पनि वृद्धि भएको छ । दायराले पनि वृद्धि भएको छ । आम मानिसले बीमा गर्ने प्रवृत्ति पनि बढेको छ । बीमा सम्बन्धी सचेतना पनि बढेको छ । यसरी हेर्दा अहिले बीमाले ठूलै फड्को मारिरहेको छ ।
हरेक वर्ष ८– १० प्रतिशतका दरले बीमाको वृद्धिदर भइरहेको छ । जीवन बीमाको कुरा गर्ने हो भने विगत तीन वर्षदेखि अहिलेसम्मको डाटा हेर्ने हो भने करिब ३० प्रतिशतको वृद्धिदर रहेको छ । निर्जीनबीमामा चाँही अलि कम वृद्धिदर रहेको छ । यसको कारण भनेको बैंकले कत्तिको कर्जा प्रभाव गरेको छ, गाडीहरु कत्तिको भित्रिएका छन्, उद्योगधन्दा तथा कलकारखाना कत्तिको चलिरहेका छन्, व्यापार व्यवसाय कत्तिको चलेको छ जस्ता कुराहरुमा भर पर्दछ । अर्थात देशको अर्थतन्त्र कत्तिको चलायमान भएको छ भन्ने कुरामा भरपर्छ । त्यसैले देशको समग्र आर्थिक गतिविधि जसरी चल्छ, निर्जीवन बीमा पनि त्यसरी नै चल्ने भएकाले अहिले निर्जीवन बीको वृद्धिदर चाँही केही कमी छ । समग्रमा हेर्ने हो भने बीमाको बजार धेरै राम्रो छ ।

बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतना जगाउन के कस्ता कार्यक्रम संचालन गरिरहेको छ ?

हामीले बीमा सम्बन्धी जनचेतना जगाउनका लागि देशैभरी कार्यक्रमहरु गर्ने गरेका छौं । हामीले स्थानीय सरकारसँग मिलेर बीमा सम्बन्धी जनचतेनामुलक कार्यक्रमहरु गरिरहेका छौं । विगत तीन वर्षदेखि अहिलेसम्म हामीले तीन सय भन्दा बढी पालिकाहरुमा जनचतनामुलक कार्यक्रमहरु गरिसकेका छौं । त्यस्तै देशैभरी उद्योग वाणिज्य संघहरुसँग मिलेर पनि विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । त्यसैगरी विद्यालयहरु, विभिन्न समुदायहरुसँग मिलेर बीमा सम्बन्धी छलफल गरिरहेका हुन्छौं ।

प्राधिकरणले जति पनि कार्यक्रमहरु गरिरहेको छ । त्यसबाट लक्ष्यितवर्गले कत्तिको लाभ लिएजस्तो लाग्छ ?

हिजोको दिनमा बीमा भन्ने शब्द नै मान्छेलाई थाहा थिएन । आज बीमा भन्ने सबैले बुझेका छन् । तर यसबाट कसरी लाभ लिने भन्ने कुरा चाँही केहीले बुझ्न बाँकी छ । योे कुरा पनि जनमानसले चाँडै नै बुझ्ने छन् । अहिले हामी लेवल टु को अवस्थामा छौं । लेभव वान भनेको चाँही बीमा भनेको के हो भन्ने हो । यो सबैले बुझेका छन् । लेवल टु भनेको बीमाबाट कसरी लाभ लिने, बीमा दावी कसरी गर्ने, आफूले कुन प्रोडक्ट लिने जस्ता कुराहरुमा कन्फ्युजन हुने गरेको पाइन्छ । अब हामीले यो सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु चलाउनुपर्ने हुन्छ ।

दावी भुक्तानीमा बीमा कम्पनीहरुले झण्झट दिने गरेको भन्ने सुनिन्छ । प्राधिकरणमा चाँही यस्ता गुनासाहरु कत्तिको आउने गरेका छ ?

यसमा केही सत्यता भएतापनि धेरै जसो बुझाइको कमीका कारण यस्तो हुन गर्दछ । अर्को के भने यो लिने भन्ने कुरा नै संसारको सबैभन्दा गाह्रो कुरा हो । जे कुरामा पनि लिन चाँही धेरै गाह्रो हुन्छ । यस्तो भन्दैमा बीमा पनि पैसा लिन धेरै गाह्रो छ भन्ने चाँही होइन । बिमितले पहिला बीमा गर्दा कस्तो प्रकारको बीमा गरेको हो । बीमा गर्नुभन्दा अगाडि बीमा फर्ममा उल्लेख भएका सबै कुराहरु पढ्नुपर्छ । प्राधिकरणमा पनि गुनासाहरु आउने गरेका छन् । पछि हामीले कम्पनीसँग बुझ्दै जाँदा बीमा एउटाको गरेको हुन्छ । दावी अर्कोको गरेको पाइयो । जस्तो कि कसैले घरको बीमा गर्दा उसले भुकम्प जाँदा क्षति भएमा दावी गर्ने भनेको हुन्छ भने उसको घर आगलागि भयो भने बीमा दावी गरिन्छ । यस्तोमा चाँही कम्पनीले भुक्तानी गर्र्दैन । अहिलेसम्मको हाम्रो अध्ययनले यस्तै कुराहरुमा मात्र बीमा कम्पनीहरुले भुक्तानी नगरेको पाइएको छ । अन्यथा कम्पनीले कुनै पनि हालतमा भुक्तानी रोक्दैन । कागजपत्रहरु मिलाउँदा भुक्तानीमा केही ढिला चाँही हुने गरेको छ ।

बीमामा विकृति पनि बढेको छ । यसलाई नियन्त्रण गर्न प्राधिकरणले कस्तो नियम बनाएको छ ?

यसमा बीमा प्राधिकरणले मात्रै काम गरेर सम्भव हुँदैन । राज्यका हरेक संयन्त्रको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । जस्तो कि मोटरसाइकल हरायो भनेर दावी गरिन्छ । तर त्यही मोटरसाइकल उसकै आफन्तले चढिरहेको पाइन्छ । अर्को आफूले गरेको व्यापार व्यवसायमा आगो लगाई बीमा दावी गर्ने जस्ता कुराहरु बेला बेला सुनिन्छ । यसमा प्राधिकरणले न्युनिकरण गर्नलाई हरसम्भव लागिरहेको हुन्छ र न्युनिकरण पनि धेरै हदसम्म भएको छ । तर पूर्णरुपमा न्युनिकरण गर्न भने सबै उत्तिकै जिम्मेवार बन्नुपर्छ । सवारी साधनको कुरा गर्दा यातायात व्यवस्था कार्यालयले २०६५ सालतिर नै सवारी साधनमा चिफ्स हाल्नुपर्छ भनेको थियो । तर अहिलेसम्म कार्यान्वयन भएको छैन । यदि त्यो कार्यान्वयन भएको भए सवारी साधनमा हुने विकृति धेरै हदसम्म नियन्त्रण हुन्थ्यो । यो त एउटा सानो उदाहरण मात्र हो । यस्तो धेरै धेरै क्षेत्रमा कामहरु भएका छैनन । यसरी सम्बन्धित निकायले काम नगरेको अपजस चाँही बीमा कम्पनीहरुले व्यहोरिरहनु परेको छ । त्यसैले राज्यका सबै निकायहरु उत्तिकै जिम्मेवार भएभने बीमामा भएको विकृति नियन्त्रण गर्न सकिन्छ ।

बाध्यता नभइकन बीमा गर्ने परिपाटी अझै पनि छैन । स्वस्फुर्तरुपमा बीमा गर्ने वातावरण बताउन प्राधिकरणको केही भूमिका हुन्छ ?

यसमा मानवीय स्वभाले पनि धेरै हदसम्म काम गरेको हुन्छ । भवितव्य भनेको कसैले देखेको हुदैन । तर हामीलाई केही हुदैन भन्ने सोच्छौं । यो मान्छेको स्वभाव नै हो । त्यसैले बीमा भन्ने चिज चाँही मान्छेको प्राथमिकतामा कहिल्यै परेन । यो यहाँ मात्र होइन, संसारभरी नै यस्तै हो । त्यहीभएर विकसित देशमा बीमालाई सेवासँग संझौता गरिन्छ । जस्तो कि हस्पिटल जानुछ भने स्वास्थ्य बीमा गरेको हुनुपर्छ । घर बनाउनु छ भने प्रोपटी बीमा गरेको हुनुपर्छ । त्यसैले बीमा भनेको अरु सेवासँग संझौता गरेर अप्रत्यक्षरुपमा अनिवार्य गर्दै जान विषय हो । संसारमा नै बीमा भनेको खुशीले अथवा स्वेस्छाले गर्दैन । बीमा संसारमा नै ‘पुससेल’ गरिन्छ । त्यसैले सेवासँग संझौता गरेर अप्रत्यक्षरुपमा अनिवार्य गराइयो भने यो ‘फिजिवल’ हुन्छ । नत्र बजारले मात्र स्वस्फुर्त गर्ने भनेर हामीले छाड्यौं भने जनताले दैनिकरुपमा सेवा लिने विषय बन्न गाह्रो हुन्छ ।

पहिलो बीमा समिति थियो । अहिले बीमा प्राधिकरिण बनाइयो । के काम गर्न अप्ठ्यारो भयो र प्राधिकरण बनाइयो ?

मुख्यतया मान्छेको हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । समिति भन्दा एउटा सानो घेरा भित्र रहेको भन्ने भान हुन्छ । तर प्राधिकरण भन्ने वित्तीकै ठूलो संस्था भन्ने छाप जान्छ । म यहाँ एउटा उदाहरण दिन चाहन्छु । हाम्रो गाउँघर तिर न्युन आयभएको मान्छे छ भने उसलाई हर्के भनेर बोलाइन्छ । उसको इनकम बढ्दै जाँदा उसलाई हर्क भनिन्छ । त्यस्तै उसको समाजमा केही भूमिका हुन थाल्यो भने हर्क जी भन्ने गरिन्छ । यही कुरा हाम्रोमा पनि लागू भएको हो । पहिला हाम्रो स्रोत साधन सीमित थियो दायरा पनि सानो थियो । अहिले हाम्रो भूमिका पनि बढ्दै गयो । दायरा पनि फराकिलो हुँदै गयो । त्यसैले अहिले हामी आफ्नो भूमिका अनुसार अपग्रेड भएका हौं । त्यस्तै काम गर्न अप्ठ्यारो भएर प्राधिकरण भएको चाँही होइन ।

यति धेरै बीमा कम्पनी हुँदा हुँदै पनि किन लघुबीमाको आवश्यकता प¥यो ?

झट्ट हेर्दा जो कसैलाई पनि यति धेरै बीमा कम्पनी हुँदा हुँदै पनि किन लघुबीमा कम्पनी आएका होलान् जस्ता लाग्छ । तर वास्तविकता भने फरक छ । औषत बीमा भनेको जीवन बीमामा तीन लाख र निर्जीवन बीमामा लगभग पाँच लाख रुपयाँको हाराहारीलाई भन्ने गरिन्छ । यसरी औषत बीमादर भन्दा तलको बीमा गर्दा ठूला बीमा कम्पनीहरुलाई आफ्नो लागत उठाउ नै गाह्रो भयो । त्यो ठाउँमा उसको लागत बढी भयो । त्यसबाट आउने प्रतिफल एकदमै कम भयो । यसरी यस क्षेत्रबाट नाफा कम हुने भएकाले ठूला कम्पनीहरु लघुबीमार्फत आकर्षित हुन सकेनन् । हामीले सबै बीमा कम्पनीहरुलाई आफ्नो लगानीको १० प्रतिशत चाँही लघुबीमामा गर्नुपर्छ भनेका थियौं । तर कसैले गरेनन् । यसको मुख्य कारण भनेकै लघुबीमामा लागत अनुसारको प्रतिफल नआउनु हो । त्यसैले यो क्षेत्रलाई पनि बीमाको दायरामा ल्याउनैपर्छ भनेर हामीले लघुबीमा गर्नका लागि केही कम्पनीहरुलाई लाइसेन्स दिएका हौं । अहिले ठूला बीमा कम्पनीहरुले कभर गर्न नसकेका ती क्षेत्रहरुलाई बीमाको दायरामा ल्याएर आफ्नो व्यवसाय अगाडि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij