ई-आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका करिब १९ सय व्यक्तिहरुलाई चैत्र २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म १८ दिन भोजनको व्यवस्था गरेको छ। बैंकले आफ्नो अठारौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ ।
बैंकले भोटु:इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो ।
साथै बैंकले वार्षिकोत्सवको अवसरमा चैत्र ०२ गते देखि बैशाख ०५ गते सम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ । कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जीतपूर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो । यी स्वास्थ्य शिविरहरूबाट करिब १७०० जना बिरामीहरूले लाभ प्राप्त गरेका छन् ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु गर्नुका साथै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ७९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।