ई–आर्थिक, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आन्तरिक कारोबार प्रणालीमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रणाली जडान गरी औपचारिक रुपमा डिजिटल कारोबार सुरु गरेको छ । यससँगै इन्फिनिटी लघुवित्त एनपीआई प्रणालीमार्फत आफ्नै प्रणालीबाट कर्जाको भुक्तानी सञ्चालन गर्ने नेपालकै पहिलो लघुवित्त संस्था बनेको छ ।
संस्थाले एनसीएचएलको आईपीएस तथा आरपीएस प्रणालीहरू पनि उपयोगमा ल्याउँदै अब कर्जाको किस्ता भुक्तानी, बचत निक्षेप संकलन, तथा अन्य वित्तीय संकलन कारोबारहरू प्रभावकारी रुपमा गर्न सक्ने भएको छ । यस प्रणालीमार्फत तलब, सेवा प्रदायक (भेण्डर) भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायतका विभिन्न भुक्तानी कारोबारहरू प्रत्यक्ष लाभग्राहीको बैंक खातामा गर्ने व्यवस्था समेत सम्भव भएको छ ।
इन्फिनिटी लघुवित्तले एनपीआई प्रणालीमार्फत आफ्ना शाखा कार्यालयहरूमा भएका बैंक खाताहरूमा रहेको रकमलाई सेन्ट्रलाइज गरी मुख्यालयबाट एकीकृत वित्तीय व्यवस्थापन गर्न सक्ने अवस्था निर्माण भएको जनाएको छ । यसले संस्थाको आन्तरिक वित्तीय अनुशासन र कार्यकुशलता थप बढाउने विश्वास गरिएको छ ।