२०८३ साउन ११ सोमबार

५ करोड ८ लाख राजस्व चुहावट गरेको अभियोगमा दुई कम्पनीविरुद्ध मुद्दा दायर

ई आर्थिक    बिहिबार, चैत्र १४ २०८१
6.1K
Shares
५ करोड ८ लाख राजस्व चुहावट गरेको अभियोगमा दुई कम्पनीविरुद्ध मुद्दा दायर

ई-आर्थिक, वीरगञ्ज ।  राजस्व अनुसन्धान कार्यालय, पथलैयाले करिब ५ करोड ८ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा वीरगञ्जका दुई कम्पनीविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरेको छ।

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीले कर चोरी गरेको पुष्टि भएपछि राजस्व चुहावटसम्बन्धी ऐनअनुसार अभियोगपत्र दर्ता गरिएको हो।

जितपुर सिमरा उपमहानगरपालिका–७ निवासी गुप्ताले चलाएका अमायरा वस्त्रालयले कपडाको कारोबार गर्दा बिजक नबुझाई तथा गलत विवरण पेश गरी २ करोड २३ लाख ९८ हजार २७६ रुपैयाँको राजस्व छलेको पाइएको छ। त्यसअनुसार उनलाई उक्त बिगो असुलउपरसहित सो रकम बराबरको जरिवाना गरी कूल ४ करोड ४७ लाख ९६ हजार ५५३ रुपैयाँ र कैद सजायको मागसहित मुद्दा दर्ता गरिएको छ।

यसैगरी वीरगञ्ज महानगर–१६ निवासी सञ्जयकुमार कुर्मीले सञ्चालित शिवशान्ति कन्स्ट्रक्सनले दोहोरो रसिद देखाई कर छलि गरेको देखिएको छ। उक्त कम्पनीले २९ लाख ९९ हजार २१४ रुपैयाँ बराबरको कर छलेकोमा सोही रकमको जरिवाना जोडेर कूल ५९ लाख ९८ हजार ४२८ रुपैयाँ र कैद सजाय माग गरिएको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले हालसम्म अस्थायी इजलास वीरगञ्जमा राजस्व चुहावटसम्बन्धी ११ र विदेशी विनिमय अपचलनसम्बन्धी ८ वटा मुद्दा दर्ता गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij