२०८३ साउन ११ सोमबार

कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्न स्थानीयको माग

ई आर्थिक    बुधबार, चैत्र १३ २०८१
5K
Shares
कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्न स्थानीयको माग

ई-आर्थिक, नवलपरासी ।  स्थानीयवासीले यहाँको कोखेटार र तनहुँको मधुवन जोड्ने कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्नुपर्ने माग गरेका छन्।

नवलपुरको बुलिङटार गाउँपालिका-४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका-४ मधुवन जोड्ने पक्की पुल निर्माण सुरु भएको नौ वर्षमा पनि सम्पन्न नभएपछि स्थानीयवासी ‘डेलिगेशन’ लिएर सडक विभाग पुगेका हुन्।

पटकपटक निर्माण कम्पनी र पुल सेक्टर कार्यालय पोखरालाई पुल निर्माण सम्पन्न गर्न आग्रह गर्दा कामले गति नलिएपछि विभागलाई गुहार्न परेको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य विद्रोही गिरीले बताए।

पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौली, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीसहितको टोलीले सडक विभागका महानिर्देशक रामहरि पोखरेलाई भेटेर थपिएको म्यादभित्रै पुल निर्माण सम्पन्न गर्न आग्रह गरिएको गिरीले जानकारी दिए।

विसं २०७३ असार २९ गते पुल सेक्टर कार्यालय पोखरासँग सम्झौता भइ लुम्बिनी बिल्डर्स-नागार्जुन-स्वच्छद जेवीले काम थालेको थियो। सम्झौतानुसार विसं २०७७ बैशाख २८ गते पुल निर्माणसम्पन्न गर्नुपर्ने थियो। हाल थपिएको म्याद अब एकवर्ष मात्र छ।

हरेक हिउँदमा केही मजदुर मात्रै काममा लगाउने र केही समयपछि बर्खा लाग्यो भनेर काम नगर्ने परिपाटीले पुल निर्माणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष सुनारीले बताए। हालसम्म पुलको भौतिक तथा वित्तीय प्रगति ५० प्रतिशत मात्र छ। निर्माणमा देखिएको समस्या हल गरेर समयमै काम सम्पन्न गराउने महानिर्देशक पोखरेलले आश्वासन दिए।

कालीगण्डकी नदीमाथि २२० मिटर लामो पुलको ६ वटा पिल्लर बनाउनुपर्नेमा पाँचवटा बनिसकेको र एउटा बनाउन बाँकी छ। नवलपुर जिल्ला सदरमुकाम कावासोतीबाट तनहुँको भिमाद हुँदै पोखरा पुग्ने यात्रुका लागि यो पुल निर्माण हुँदा यात्रामा १५ किलोमिटर बाटो छोटो हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij