काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पानीको सही प्रयोगबाट मुलुकले क्रान्तिकारी समृद्धि हासिल गर्न सक्ने बताएका छन्। काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले पानीको सही प्रयोगमा ध्यान दिनु आजको आवश्यकता भएको बताए। पानी दैनिक जीवनका लागि मात्र नभई आर्थिक समृद्धिको वाहक भएको उनको भनाइ छ। सरकार पानीको प्रयोगबाट देशलाई समृद्ध बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित अघि बढिरहेको उनले जानकारी दिए।
उनले जलस्रोत नेपालको संस्कृति, सभ्यता र आर्थिक विकासको मेरुदण्ड भएको दाबी गरे। जलवायु परिवर्तनले विश्वको पानी चक्रमा परिवर्तन आएको र हिमनदी खुम्चिँदा हिमताल फुट्ने जोखिम बढेको उनले बताए।
उनले भने, ‘पानीको सही प्रयोगमा लाग्नु आजको आवश्यकता हो। यो एउटा स्रोत हो। दैनिक जीवनमा मात्र होइन, मुलुकको आर्थिक समृद्धिका लागि पनि यो निकै उपयोगी छ। खासगरी नेपालका लागि पानीको प्रयोगबाट क्रान्तिकारी आर्थिक समृद्धि हासिल गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित अघि बढिरहेका छौँ।’
उनले बेमौसमी वर्षाले कृषि क्षेत्रमा ठूलो असर पारेको र यसले जलस्रोत व्यवस्थापन तथा भविष्यको जल सुरक्षामा गम्भीर चुनौती खडा गरेको बताए। जलस्रोत रणनीतिका लागि राज्यले आवश्यक योजना बनाउनुपर्ने उनको जोड छ।