ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा निर्यात समेत बढेको छ । फागुनसम्मको तथ्यांक अनुसार नेपालबाट एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ८ महिनाको अवधिमा १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यो गत आर्थिक वर्षको तुलनामा ५७.२० प्रतिशत बृद्धी भएको हो ।
भन्सार विभागको अनुसार चालु आर्थिक वर्षमा निर्यात व्यापारमा क्रमश सुधार देखिएको छ । केहि महिनायता नेपालबाट निर्यात व्यापारमा निरन्तर सुधार भएको भन्सार विभागको तथ्याङ्कले देखाउछ ।
चालु आर्थिक वर्षको ८ महिनासम्ममा मुलुकले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आर्थिक वर्षको तुलना गर्दा चालु आवको फागुन महिनासम्म कुल आयात ११.२० प्रतिशतले बढेको हो ।
आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटा समेत बढेको छ । विभागका अनुसार आठ महिनाको अवधिमा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ व्यापार घाटामा छ ।
यो गत आर्थिक वर्षको तुलनामा ६.२२ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको आठ महिनामा नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा थियो ।
वस्तुगत आधारमा भटमासको तेल,पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको भन्सार विभागले बतायो ।
साथै वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।